आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण : आज बालकृष्ण खाँण थुनामुक्त हुने सम्भावना कति ?

शुक्रबार, मंसिर १५ २०८०

काठमाडौं । उच्च अदालत पाटनमा यही मंसिर ५ गतेदेखि सुरु भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ ।

विगत एक सातादेखि न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा भइरहेको मुद्दाको सुनुवाइ बिहीबार सकिएको र आज निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

जिल्ला अदालत काठमाडौंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले आज निर्णय सुनाउने भएको हो ।

सो प्रकरणमा थुनामा रहेका पुर्ब गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले फैसला आउने सम्भावना रहेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा काठमाडौं जिल्ला अदालतले सुनाएको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दायर भएको थियो ।

जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तहरूको तर्फबाट बिहीबार जवाफी बहस सकिएसँगै सुनुवाइ सकिएको हो ।

अदालतमा जारी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाई थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाँणलगायतको मुद्धामा आज फैसला आउने सम्भाबना रहेकाे हाे ।

आज आउने फैसलाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाइदिने भन्दै नेपाली नागरिकबाट करोडौँ रकम उठाएर ठगी गरेको प्रकरणमा पूर्व-उपप्रधानमन्त्री र पूर्वगृहमन्त्री सहितका व्यक्ति प्रतिवादी छन् ।

एमालेका नेता तथा पूर्व-उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए ।