आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने

सोमबार, मंसिर ११ २०८०

काठमाडौं । काठमाडौं  बबरमहलमा बटुवा आफैँले बटन थिचेर रातो बत्ती बाल्ने र बाटो पार गर्ने आधुनिक शैली सञ्चालनमा आएको छ ।

बटुवाले आफैँ बटन थिचेर रातो बत्ती बाल्ने, अनि बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम आजदेखि सञ्चालनमा आएको हो ।

काठमाण्डौ जिल्ला अदालत अगाडि रहेको जेब्राक्रसको छेउमा रहेको पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ ।

रातो बत्ती बलेपछि गाडी रोकिन्छन् र यात्रुले बाटो पार गर्न सक्छन् । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक ट्राफिक लाइट जडान छन् । बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा भने १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखेको महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताए ।

बबरमहलबाहेकका अरु ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।