काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्दै स्थगित हुन पुगेको छ ।
गत बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका संयोजक दुर्गा प्रसाईंले आन्दोलन निरन्तर हुने भनेपनि जनताको साथ नदेखिएपछि स्थगित हुन पुगेको हो ।
प्रसाईंको अराजक अभिव्यक्तिपछि शुक्रबार प्रशासनले तीनकुने क्षेत्रमा प्रदर्शन गर्न रोक लगाएको थियो भने शक्रबार पनि जिल्लाहरुबाट ल्याइएका लघुवित्त पीडितहरुको मात्रै सहभागितामा कार्यक्रम गरिएको थियो । आइतबार भने भक्तपुरको दरबार क्षेत्रमा तय भएको कार्यक्रम नै स्थगित गरिएको छ ।
केहीले सरकार र दुर्गाबीच एक प्रकारको गोप्य सहमति पश्चात आन्दोलन स्थगित भएको समेत भनेका छन् । उनीहरुले दुर्गा प्रसाईंले झापाको विर्तामोडमा चलाउँदै आएको बीएण्डबी अस्पताललाई नर्सिङ पढाउने गरी लाइसेन्स दिनेदेखि राष्ट्रिय सभाको रित्त हुने स्थानमा उनलाई सांसद बनाएर मन्त्रीसमेत बनाउने गरीको गोप्य सहमति भएको आरोप लगाएका छन् । तर यसको पुष्टि भने भएको छैन ।
दुर्गा प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने बताएका थिए । तर उनको आन्दोलन ३ दिनमै किन तुहिएयो ? अघिल्लो दुई दिनअघिसम्म उनलाई साथ दिएका त्यत्रा मानिस पर्सीपल्ट सिफलमा किन आएनन् ?
दुर्गा प्रसाईंको अघिपछि लाग्नेहरु बेरोजगारी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्नेहरु थिए । तर आन्दोलनले उनीहरुलाई भन्दा पनि प्रसाईं स्वयम् र केही मुठ्ठीभरलाई मात्र फाइदा पुग्ने देखिएपछि र प्रसाईं आफैंले पनि पींध नभएको लोटा जस्तो हावादारी गफ दिएपछि जनताले उनको साथ छोडेको अनुमान गरिएको छ ।
पहिलो दिन प्रसाईंको कार्यक्रममा उत्साहजनक उपस्थिति रहेपनि दोस्रो दिन तीनकुने गर्ने भनिएको जनप्रदर्शन सफल भएन । प्रसाईं घरमै नजरबन्दमा परे । प्रहरीले तीनकुने आउने उनका समर्थकलाई समात्न थालेपछि कार्यक्रम बिथोलियो ।
दुर्गा प्रसार्ईंको आन्दोलनले देशमा ठूलो उथलपुथल ल्याउँछ भन्ने प्रचार एकथरीले गर्ने गरेका थिए । तर त्यस्तो भएन । त्यस्तो प्रचार पत्याएर आतंकित हुने मानिसको संख्या पनि धेरै थियो । तर, दुर्गा प्रसाईंको आन्दोलन अर्थहीन मात्र ठहरिएन, सम्पूर्ण रुपमा असफल पनि भएको छ ।
दुर्गाको आन्दोलन असफल हुनुका मध्ये बेलगाम उनको अभिव्यक्ति हो । साथै उनको आन्दोलन सरकार र व्यवस्था परिवर्तन तिर हुनु पर्नेमा प्रमुख प्रतिपक्ष त्यसमाथि त्यसका सीमित नेतामाथि भएका कारण पनि उनलाई समर्थन गर्ने मानिसहरु आन्दोलन छाडेर हिडेको अनुमान गरिएको छ । यसबाट जनताले व्यवस्था परिवर्तन भन्दा पनि अवस्था परिवर्तन खोजेको प्रष्ट हुन्छ । सरकार विरुद्ध प्रहार केन्द्रीत गरेर आन्दोलन चलाउनुपर्नेमा प्रमुख प्रतिपक्षी विरुद्ध आन्दोलन गरेको जनताले मन पराएनन् ।
आन्दोलनका लागि नेतृत्वको विश्वसनीयता र विचार निर्णायक तत्व हो । तर उनका त्यो पाइएन ।
साथै दुर्गा प्रसाईंले आफ्ना माग र नारा बारम्बार फेरि रहे। राजतन्त्र ल्याउने, हिन्दू राष्ट्र बनाउने, ऋण मिनाहा गराउने जस्ता माग र नारा दिएका थिए। तर पूर्व राजा ज्ञानेन्द्र शाह नै उनको आन्दोलनलाई चासो नदिइ बरु राप्रपाले आयोजना गरेको झापाको कार्यक्रममा गए । त्यसपछि प्रसाईं आफ्नो मूल एजेण्डा राजतन्त्र फर्काउने नभई अरु नै रहेको भन्न समेत थाले । फाइदा अनुसारका शक्ति केन्द्रको नजिक भइरहेका दुर्गा प्रसाईंको गलत अभिव्यक्ति र हावादारी गफकै कारण उनको आन्दोलन शिथिल हुन पुगेको हो । महिलाप्रति हिंसाजन्य अभिव्यक्ति दिएका कारण पनि आजभोलि सामाजिक सञ्जाल भरी उनको आलोचना हुन थालेको छ ।
सोचे अनुसार जनताले साथ नदिएपछि अभियानको शनिबार बसेको केन्द्रीय समिति बैठकले दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।