काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई बर्खास्त गर्न माग गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाउनु भएको छ । यस्तो व्यक्ति पदमा बसिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न उनले माग गरेका छन् ।
स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्य सम्बन्धी ज्ञान, अनुभव नभएको र जान्ने प्रयाससमेत नगरेको आरोप डा. केसीको आरोप छ ।
शनिबार ट्रमा सेन्टरमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले डा. केसीलाई गिरोहले सञ्चालन गरिरहेको आसयले धारणा राखेका थिए। स्वास्थ्यमन्त्री बस्नेतको उक्त भनाइ बाहिरिएपछि डा. केसीले आइतबार विज्ञप्तीमार्फत आरोप खण्डन गर्नुका साथै स्वास्थ्यमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन् ।
उनले भनेका छन्, ‘हालै प्रचण्ड सरकारका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ममाथि लगाएको घोर आपत्तिजनक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। ममाथि लगाएको आरोप कपोलकल्पित र सम्पूर्ण झुठा हुन भन्न चाहन्छु।’