कैलाली । धनगढीबाट अनलाइन ठगी गर्ने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकनजिक धनगढीमा कार्यालय नै खोलेर बैंक एकाउन्ट ह्याक गर्ने नौ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो ।
कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ का ३० वर्षीय विशाल सुनारले अवैध रूपमा सञ्चालन गरेको आईटी सेन्टरबाट सुनारसहित नौ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताए ।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर, भारतको दिल्ली पालङ्गाका ३२ वर्षीय अमित कुमार, भारतको उत्तमनगर दिल्लीका २६ वर्षीय कुनाल शर्मा, भारतकै करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र दिल्लीकै १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।
यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका– ६ का २९ वर्षीय मीनबहादुर सुनार, बेलडाँडी गाउँपालिका– २ का ३० वर्षीय विशाल सुनार, २८ वर्षका कमल सुनार र २२ वर्षीय जयराम सुनारलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको हो ।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले विभिन्न कम्पनीका ११ वटा ल्यापटप, आठ थान मोबाइल, वर्ल्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्ड बरामद गरेको छ । यसैगरी, ठगी धन्दाका टिम म्यानेजर विशाल सुनारको कञ्चनपुर बेलडाँडीस्थित घरबाट प्रहरीले भारु २९ लाख ३२ हजार ३ सय ९नेपाली ४६ लाख ९१ हजार ६८० रुपियाँ ० पनि बरामद गरेको छ ।
अनलाइनबाट ठगी गर्नेहरूलाई धनगढीमा पक्राउ गरिसकेपछि प्रहरीले विशालको घरमा छापा मारेको थियो । गिरोहले धनगढी तारानगर– ५ स्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आईटी सेन्टर नै सञ्चालन गरेर ठगी धन्दा चलाएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनगढी, प्रदेश प्रहरी कार्यालयको आरआईटी टोली र प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक बोहराले बताए ।
भारतको दिल्ली बस्ने सूर्य सरदारले दिल्लीमा बसेर नेपालबाट ठगी धन्दा सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बोहराले बताए । पक्राउ परेका नौ जना व्यक्ति भने कर्मचारी मात्र हुन् । मुख्य योजनाकार सरदारले नै विशाललाई मासिक ५० हजार र अन्यलाई मासिक १२ हजारदेखि २० हजार रुपैयाँसम्म तलब दिने गरी ठगी धन्दामा लगाएको बोहराले बताए ।
कोठाभाडा खर्चदेखि लिएर कर्मचारी तलब पनि सरदारले नै ब्यहोर्ने गरेको जनाइएको छ । अनलाइन ठगी कार्यका लागि सरदारले नै कर्मचारीलाई भिडियो कन्फ्रेन्समार्फत तालिम र आवश्यक स्क्रिप्टसमेत दिने गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूले विगत चार महिनादेखि धनगढीमा घर भाडामा लिएर ठगी धन्दा चलाएको डीआईजी बोहराले बताए ।
उनीहरूले अवैध रूपमा आईटी सेन्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउन्डरिङ, बीमा दुर्घटनालगायत विषयमा प्रलोभनमा पारी पोल्यान्डलगायतका नागरिकसँग अनलाइनमार्फत ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि ठगी र संगठित अपराधसम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ ।