काठमाडौं । सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि ६ जनाको नाम सिफारिस गरिएको छ ।
न्यायाधीश सिफारिसमा परेकाहरुमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट छन् ।
न्यायपरिषद्को मंगलबार बसेको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशको पदमा सिफारिस गरेको हो ।
सिफारिसमा परेकाहरू मध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिबाट सिफारिस गरिएका हुन् । नेपाल बार एसोसिएसनका पूर्व–महासचिवसमेत रहेका पोखरेल कांग्रेसनिकट कानुन व्यवसायी मानिन्छन् । ।
त्यस्तै, सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव रहेका ढकाल एमालेनिकट कानुन व्यवसायी मानिन्छन् ।
सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेर नेपाली कांग्रेसनिकट कानुन व्यवसायी र एमालेनिकट कानुन व्यवसायीबाट एक-एक जनालाई न्यायाधीश बनाइए पनि माओवादी कोटाबाट भने नियुक्ति हुन सकेन ।
सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद खाली थियो । सर्वोच्चको रिक्त न्यायाधीश पदका लागि एकजना खाली राखेर ६ जनाको नाम सिफारिस भएको हो । न्यायपरिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका एक मात्र मुख्य न्यायाधीश नृपध्वज निरौलालाई भने छुटाएर अन्यलाई सिफारिस गरेको छ ।
माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो ।