काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका छन् ।
गएको कात्तिक २७ गते मन्त्रिपरिषद्बाट टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता भएका थिए । १० रिट प्रारम्भिक सुनुवाइका निम्ति न्यायाधीश चुडालको इजलासमा परेका हुन् ।
टिकटक प्रतिबन्ध विरूद्धका रिटहरू एकल इजलासको पनि क्रमसंख्यामा छैँटौ नम्बरमा परेका छन्। इजलासहरूले क्रमैसँग पहिलो नम्बरदेखि मुद्दा हेर्ने चलन छ। त्यसैले यो रिटमा आज सुनुवाई हुने संभावना कम देखिन्छ।
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिटहरूको पेशी तोकिए पनि आज सुनुवाइ हुने संभावना भने कम देखिएको छ। प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेशबाट सरकारको निर्णय कार्यान्वयनमा रोक लगाइए आजैदेखि पुनः टिकटक चल्नेछ । तर, त्यो सम्भावना कम रहेको छ ।
माग गरेजस्तो अन्तरिम आदेशद्वारा सरकारको निर्णय कार्यान्वयनमा रोक नलगाइए अन्तिम फैसला नआउँदासम्म टिकटक चल्ने छैन ।
सामाजिक सदभाव बिग्रिन थालेको भन्दै सरकारले गत कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो।