काठमाडौं । गत कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा केन्द्रित रहने गरी एमालेको ११०० स्वयंसेवकको टोली आजबाट खटिएको छ ।
विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलको नेतृत्वमा ११०० स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वयंसेवकको टोलीले भग्नावशेष व्यवस्थापन र अस्थायी घर टहरा निर्माणमा केन्द्रित रहेको तस्वीरहरु सार्वजनिक गर्दै विपतमा परेकालाई मद्दत गर्न सबै सँगसँगै जुट्न आग्रह समेत गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष ओलीले लेखेका छन् –’भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा चिसो बढेको छ। छाना बाहिरको शीतमा रात काट्नु पर्दा बालबालिका र वृद्धवृद्धा बिरामी छन्। चिसोका कारण कतिको ज्यान समेत गएको खबरहरु आएका छन्। भूकम्पबाट भत्केका घरका भग्नावशेष पन्छाउन र पीडितलाई अस्थायी टहरा बनाएर छानामुनि ल्याउन जिफन्ट, युवा, विद्यार्थी लगायत पार्टी पङ्क्तिका सयौं साथीहरु परिचालित हुनु भएको छ । विपतमा परेकालाई मद्दत गर्न सबै सँगसँगै जुटौं ।’