काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई कारबाही माग गर्दै उजुरी परेको छ ।
ज्ञवालीले उमेर ढाँटेर सरकारी सेवामा प्रवेश गरी भ्रष्टाचारजन्य काम गरेको आरोपमा उजुरी परेको हो।
प्रहरी मुख्यालय, गृहमन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा सफाइ पाएका ज्ञवालीको उमेर विवादमाथि छानबिन गर्न संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी दर्ता भएको छ ।
ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी दिएका शेरबहादुर चन्दले कात्तिक १४ गते राज्य व्यवस्था समितिमा उजुरी दर्ता गरेको समिति स्रोतले जानकारी दियो।
गत वर्ष फागुनमा चन्दले नै अख्तियारमा दिएको उजुरीमाथि आयोगले गत वैशाखमा ‘नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै कैफियत नदेखिएको’ ठहर गर्दै उजुरी तामेलीमा राख्ने निर्णय गरेको थियोे। त्यसपछि पनि दुईपटक आयोग उजुरी परेको छ।
चन्दले ज्ञवालीमाथि २०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि मागिएको आवेदनमा २५ वर्ष पूरा भइसकेको अवस्थामा नियुक्ति लिइएको आरोप छ।
आवेदनअनुसार २०५० साल वैशाख १ गते २० वर्ष उमेर पुगेर २५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन पाउने भएपनि नागरिकताका अनुसार ज्ञवालीको उमेर २५ वर्ष नाघिसकेको उजुरीमा उल्लेख छ।
प्युठान जिल्ला प्रशासन कार्यालयबाट २०४१ साल चैत २१ नागरिकता लिएका ज्ञवालीको उमेर १७ वर्ष उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रहरूमा भने जन्ममिति २०२५ साल भदौ २६ गते उल्लेख भएका छन्।
सार्वाजनिक भएका ज्ञवालीका नागरिकता र शैक्षिक प्रमाणपत्रका विवरणले उनी २५ वर्ष पूरा भइसकेको देखिन्छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट २०४१ साल चैत २१ गते नागरिकता लिँदा उमेर १७ वर्ष लेखिएको छ।
जसले उनको जन्म २०२४ सालमा भएको प्रमाणित गर्छ। २०२४ सालको जन्ममितिलाई आधार मान्दा २०५० सालमा २६ वर्ष लागि सकेको अवस्थामा ज्ञवाली प्रहरी सेवामा प्रवेश गरेको देखिन्छ।
२०५० साल मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा आवेदन आह्वान भएको थियो। आवेदन सूचनामा छनोट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको २५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ।
प्रहरीको आधिकारिक अभिलेखले उनको शैक्षिक प्रमाणपत्रको जन्ममितिलाई सुरूदेखि नै मान्यता देखिएको छ।