शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

कर्णेल जेलतिर, एसएसपी सुनको खेलतिर

शुक्रबार, साउन २६ २०८०

नेतासँग सम्धीको नाता, हाकिमसँग खड्कुलोको खेलो चलाउँदै नेपाल प्रहरीका एकजना एसएसपी चन्दनदेखि सुनसम्मको तस्करीमा तानिने भएका छन् । रसुवा नाकामा खटिएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रामजी थापा काठ र चन्दन तस्करीको आरोपमा कोर्ट मार्शलमा परे, जेल गए, जागिर पनि खुस्कियो । तर, सँगसँगै उक्त काममा संलग्न भएका तत्कालिन डिएसपी ओमबहादुर रानाचाहिँ फुक्काफाल भएर हिँडे । उनै राना अहिले एसएसपी दर्जामा त उक्लिए । तर, पहिलादेखि अहिलेसम्मका घटनाले तान्दै ल्याएको छ । र, अहिले निक्कै तात्तातो बनेको सुन तस्करीमा उनको मिलेमतो हुन सक्ने रिपोर्ट प्रधानमन्त्रीसमक्ष पुगेको छ ।

तत्कालीन गुप्तचर विभाग (राष्ट्रिय अनुसन्धान) मा ०५३ पुस ५ गते निरीक्षक दर्जाबाट भर्ना भएका उनले मगरको नाता लगाउँदै माओवादी नेता वर्षमान पुन, अहिले एमाले भएका रामबहादुर थापा (बादल) हरुसँग राम्रो सम्बन्ध बनाए । त्यही सम्बन्धको आडमा दावा छिरिङहरुसँग उठबस गरे । बादलको पुख्र्यौली घर गुल्मी । पछि बसाइँसराइँ भएर चितवन पुगेका । नाताले ओम राना बादलका सम्धी पर्ने । बादलका खास सम्धीचाहिँ बुटवलतिर । उनै सम्धीमार्फत बादलकहाँ पुगेर नाता जोडे । यस्तै तरिकाले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) सँग पनि सम्बन्ध बनाए । भनिन्छ, यो तस्करीको जालोभित्र नन्दबहादुरका छोरा दिपेश पुन पनि जोडिने सम्भावना छ ।

रसुवा काण्डमा कर्णेल रामजी थापाको सम्बन्धमा सर्वोच्च अदालतले २०७० वैशाख ९ मा फैसला सुनाउँदा तत्कालीन प्रहरी प्रमुखका रुपमा ओम राना पनि मुछिएका थिए । तर, वर्षमान पुन अर्थमन्त्री भएको बेला तत्कालिन आइजी रवीन्द्रप्रताप शाहलाई बजेट घटाउने धम्की दिँदै उनी जोगाइए । कर्णेल रामजी अह्रिमर्दनका गणपति थिए । उनले प्रहरीको हाकिम (ओम) ले २०६८ साल वैशाख २५ गते आग्रह गरेबमोजिम सिमेन्ट लोड भएको ट्रक तीन वटा चेकपोष्टबाट छाड्न आदेश दिएको स्विकारेका थिए । तर, पछि उक्त गाडीबाट रक्तचन्दन फेला पर्‍यो । यो काममा संलग्नता थियो, ओम रानाको तर कारवाही खाए एक्ला कर्णेल रामजी थापाले । उनलाई सैनिक ऐनअनुसार दुई वर्ष कैद र भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्तसमेत गरियो । यो घटना २०६८ साउन १६ को हो । त्यसदिन ना ३ ख २८९४ नम्बरको ट्रकमा सिमेन्ट भन्दै चन्दन तस्करी भएको थियो । उक्त सामान तिब्बततिर भित्रिने क्रममा थियो ।

ओमले सादगी मानिने आइजी शैलेस थापासँग उपत्यका प्रहरी, रानीपोखरीमा हुँदादेखि नै राम्रो सम्बन्ध बनाएका थिए । त्यही कारण एसपी दर्जामा कास्की र बाँकेको कमाण्ड सम्हाले । जहाँ–जहाँ गए, त्यहाँ–त्यहाँ गुण्डाहरुको लाइन लाग्ने गथ्र्यो, गुण्डाहरुसँग बसेर कफीसफी खाने गर्दथे । पोखरामा त ठूलै काण्ड भयो । सराङकोटमा एक जापानीले खोलेको होटल छ । बनाउँदादेखि नै जापानिजलाई ङ्याकेपछि पैसा आउँछ भनेर हङकङ बस्ने पोखराकै एक जना हाउडे केटालाई नेपाल बोलाई सो होटलको निर्माणकार्य रोक्न लगाए । ती हाउडेले जापानिजको होटल छेउ डोजर चलाएमा पैसा आउँछ भन्ने बुझेर ‘त्यसकै छेउमा म पनि रिसोर्ट खोल्दैछु’ भने । त्यति भनाइको भरमा जापानिजले त्यहीँको कुटी होटेलमा एक्जिक्युटिभ रुम बुक गरिदिए ।

हाउडे केटाले जापानिजबाट ब्ल्यु लेबल ह्वीस्की लिने, कोटको खल्तीमा च्यापेर कुटीमा लैजाने, खाने बेलामा ओम राना पुग्ने ! उक्त रक्सी पिउनेमा ओम नम्बर एक, बादलका छोरा प्रतीक थापा दुई र हाउडे केटा तीन नम्बर † त्यहाँ बसेर खाएको ६५ हजारको बिल आयो । त्यसपछि हङकङदेखि आएका हाउडे लुसुक्क भागे । यस्तो भएपछि जापानिजबाट आउला भनेको शेयर आएन, अर्थोक केही पनि भएन । हङकङबाट आएका हाउडेको सल्लाहमा डोजर चलाएर रातिराति जापानिजलाई धेरै दुःख दिए । त्यसो गर्दा पैसा आउँछ भनेपछि त्यसबेला त्यहीँ पोष्टिङ भएका गुप्तचरका एसपी भूमि त्रिपाठी पनि सल्बलाए । उनी केही समय एयरपोर्ट बसेर भर्खरै मात्र ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका छन् ।

ओमको पोखराका सबैजसो मीटरव्याजी र गुण्डासँग राम्रो थियो । दिउँसै रक्सी पिएर ड्युटी गर्नेमा कहलिएका थिए । बाँकेमा त इन्स्पेक्टर, डिएसपीदेखि एसपी हुँदासम्म पटक–पटक सरुवा भएर गए । किनभने, त्यहाँ उनको सारा तस्करहरुसँग दोस्ती थियो ।

शैलेस थापा डिआइजी हुँदा एकपटक उनका लागि एउटा चाँदीको एउटा खड्कुलो लगिदिए । सामान सिपाहीहरुको हातमा प¥यो, शैलेसले देख्न पाएनन् । पछि थाहा पाएर गाली खाएपछि शैलेसको खुट्टा समात्न पुगे । र, माफी–मिनाहा भयो । रसुवामा हुँदा वर्षमान पुन अर्थमन्त्री थिए, रवीन्द्रप्रताप शाह आइजिपी । उनलाई हेडक्वार्टरबाट कारवाही गर्न ठिक्क पारिएको थियो । तर, वर्षमानले प्रहरीको बजेट नै घटाइदिने भनेपछि रवीन्द्रप्रताप पछाडि हटेका हुन् । नत्र, सँगै ड्युटी गर्ने कर्णेल जेल जाने, जागिर पनि जाने । उनीचाहिँ सर्लक्क निस्किने कुरा सम्भव थिएन ।

रसुवा जानुअघि बौद्धमा बस्दा चिनियाँहरुसँग राम्रो सम्बन्ध बनाए । त्यहाँबाट रक्सीकाण्ड लागेर तानिए । त्यसबेला अर्का मगर कुबेरसिंह राना आइजी थिए । अर्का छन्, सन्तोष तामाङ । भर्खर एसपी भए । जावलाखेल रहँदा आलिसान महल खडा गरेका छन् । झापा घर भएका उनले रसुवामा डिएसपी हुँदा सुन तस्करी चलाएपछि तानिनु परेको थियो । हेडक्वार्टरले कारवाही गर्न खोज्दा केपी ओली प्रधानमन्त्री हुनाले बचे । त्यसबेला रसुवागढीमा बसेका इन्स्पेक्टरले त तीन महिनामै सरुवा मागेर आफूलाई जोगाए । सन्तोषले स्याऊको कार्टुनमा सुन ल्याउँथे । उनले बालाजुमा हुँदा बालुवा तस्करी पनि चलाए ।

भनिन्छ, अहिले सुन तस्करीको जालोमा ओम रानाको संलग्नतासँग दावा छिरिङको कनेक्सन पाइन्छ । दावा पहिला कल बाइपासदेखि मानव तस्करीसम्म चर्चामा आएका व्यक्ति हुन् । उनले नन्दबहादुर पुनकी बहिनी भन्ने अमलासँग विवाह गरेका छन् । अमला एकल महिला हुन्, ०७४ मा पछि दावासँग विवाह भएको हो । तत्कालीन उपराष्ट्रपति निकट दावाले कोभिडअगाडि एउटा फण्डा झिकेका थिए, ‘चीनबाट नेपाल आउनेले प्याकेजमा उपराष्ट्रपतिसँग पनि भेट्न पाउने !’

पहिला चिनियाँ तस्करले कुनै घटनामा पर्नेबित्तिकै ‘नन्दबहादुर पुन त हाम्रो ससुरा हो नि’ भनेर प्रहरीलाई नै तर्साउने गर्थे । उनले यसरी नै आफ्नो आर्थिक तथा राजनीतिक कनेक्सन विस्तार गरेको अनुमान गरिन्छ । एउटा उदाहरण हेरौं, उनले लगाएको बेल्टमा ‘एच’ लेखिएको छ । उक्त बेल्ट ‘हर्नेस’ ब्राण्डको एकदमै महँगो हो । जनआस्थाबाट