काठमाडौं । चर्चित रक गायक तथा अभिनेता रोविन तामाङ मृत भेटिएका छन् । ‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन् ।
प्रहरी प्रभाग बुढानीलकण्ठका अनुसार कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएका थिए । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज बिहान उनको शव पोष्टमार्टम हुने बताइएको छ ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए । ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो ।
ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उनको जन्म सिंगापुरमा भएको थियो ।
उनको निधनसँगै नेपालका चर्चित र रोबिनको नजिक रहेर काम गरेका कलाकारहरूले पनि सामाजिक संजालमार्फत श्रद्धान्जली दिइरहेका छन् ।