नेपालमा आउँदै, टाइटल स्पोन्सरमा टिएसके एनटिआर सिटिटि
नेपाली हिप–हप संगीतलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित चर्चित भारतीय र्याप रियालिटी शो ‘हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । नेपाली हिप–हप क्षेत्रको विकास, नयाँ प्रतिभाको पहिचान तथा स्थापित कलाकारलाई राष्ट्रियस्तरको मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टिएसके एनटिआर सिटिटि आबद्ध भएको छ।
मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ लाई टिएसके एनटिआर सिटिटि प्रस्तुतकर्ताका रूपमा प्रस्तुत गरिनेछ । कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुने यो कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय स्तरको र्याप रियालिटी शोको अवधारणामा आधारित रहेर निर्माण गरिने भए पनि कार्यक्रमको मुख्य केन्द्रमा नेपाली कलाकार, उनीहरूका मौलिक कथा, स्थानीय संस्कृति, सामाजिक परिवेश र नेपालको आफ्नै हिप–हप पहिचान रहनेछ। यसले अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति र नेपाली मौलिकताको संयोजनमार्फत नेपाली हिप–हप संगीतलाई नयाँ परिचय दिने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रतिस्पर्धा, मेन्टरसिप र उत्कृष्ट सांगीतिक प्रस्तुतिलाई विशेष प्राथमिकता दिइनेछ । स्थापित र्यापरदेखि नयाँ पुस्ताका उदाउँदा प्रतिभासम्मले आफ्नो कला, क्षमता र सिर्जनशीलता राष्ट्रियस्तरमा प्रस्तुत गर्ने अवसर पाउनेछन् । यसले नेपाली हिप–हप क्षेत्रमा नयाँ प्रतिभाको पहिचान र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
नेपाली युवापुस्तामाझ लोकप्रियता हासिल गर्दै गएको हिप–हप संस्कृतिलाई थप उचाइमा पुर्याउने उद्देश्यसहित टिएसके एनटिआर सिटिटिले कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा सहकार्य गरेको हो । युवापुस्ताको ऊर्जा, सिर्जनशीलता, आत्मविश्वास र नयाँ सोचसँग जोडिएको यस सहकार्यले नेपाली हिप–हप समुदायलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
‘गल्लीदेखि ग्लोरीसम्म’ भन्ने मूल भावनासहित अघि बढ्ने ‘हसल बाई नेपहप’ ले नेपाली हिप–हप प्रतिभालाई ठूलो राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्ने विश्वास लिइएको छ । स्थानीय कथा, मौलिक आवाज र नेपाली युवाको संघर्षलाई संगीतमार्फत राष्ट्रियस्तरमा स्थापित गर्ने यस प्रयासलाई नेपाली हिप–हपको नयाँ यात्राका रूपमा हेरिएको छ।
कार्यक्रमको प्रसारण मिति, अडिसन प्रक्रिया, सहभागी हुने कलाकार तथा अन्य विस्तृत जानकारी आयोजकले चाँडै सार्वजनिक गर्ने जनाएको छ।