बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

यही असार मसान्तसम्म एकीकृत कारोबार गर्ने संस्थाहरुलाई राष्ट्र बैंकले सहुलियत दिने

मंगलबार, जेष्ठ २३ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले २०८० असार मसान्तसम्ममा मर्जर तथा प्राप्ती मार्फत एकीकृत कारोबार सुरु गर्ने संस्थाहरुलाई सहुलियत दिने भएको छ । मंगलबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले सहुलियत दिने घोषणा गरेको हो । सो अनुसार वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट आधा दर्जन सहुलियत पाउने छन् । यस्ता सहुलियतहरुमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने छ ।

एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न छ महिनाको समय प्रदान गरिने, गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने, राष्ट्र बैंकबाट तोकिएकोप्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म पाँच प्रतिशत बिन्दुले थप गरिने र एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको अनुमती आवस्यक पर्ने छैन ।