बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

एभरेष्ट बैंकको इटहरी शाखा घोटाला प्रकरण :

बैंक भन्छ, कटुवाललाई दोषी देखाउने गरी समाचार संप्रेषण हुनु पत्रकारिताको धर्म विपरित

मंगलबार, जेष्ठ ९ २०८०

काठमाडौं – एभरेष्ट बैंकको इटहरी शाखामा बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ हिनामिना भएको प्रकरणमा पक्राउ परेका नौ जना मध्ये इटहरी शाखाकी टेलर पवित्रा कटुवालको उक्त प्रकरणमा कुनै संलग्नता नभएको बैंकले जानकारी दिएको छ । उक्त प्रकरणमा बैंकका शाखा प्रमुख सिन्धुपाल्चोक बाह्रबिसे–८ घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित नौ जनालाई प्रहरीले केही दिनअघि अर्थात यही जेठ छ गते पक्राउ गरेपछि बैंकले उक्त प्रकरणमा कटुवालको कुनै संलग्नता नभएको बताएको हो ।

बैंकका अनुसार उक्त प्रकरणमा प्रहरीले शाक्यसँगै बैंकको उदयपुर गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान, इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा र २७ वर्षकै रञ्जित पण्डित, इटहरी शाखाकी टेलर पवित्रा कटुवाल, धनुसाको मिथिला नगरपालिका– ११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सूर्यविनायक नगरपालिका– २ का २७ वर्षीय अजय खिउजु सहितलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो । उनीहरूले ३३ जना निक्षेपकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार चार सय ३४ रुपैयाँ हिनामिना गरेको प्रहरीको भनाई छ । पछिल्लो पाँच महिनामा ३३ जना ग्राहकको खाताबाट कनेक्ट आईपीएसमार्फत ५९ पटकमा सो रकम निकालेको देखिएको छ ।

यो प्रकरणमा बैंकले आन्तरिकरुपमा गरेको अनुसन्धानमा उदयपुर गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान नै मुख्य दोषी देखिएका छन् । तर टेलर पवित्रा कटुवालको हकमा भने उनलाई उक्त प्रकरणमा अनाहकमा फसाईएको बैंकको भनाई छ । पवित्रा भनेको हाकिमले अहएको काम गर्ने सामान्य कर्मचारी हुन, ठगीको डिजाईन प्रधानले बनाए तर हाकिमले भनेको काम गर्दा पवित्रालाई दोषी जस्तो गरी सामाजिक मर्यादामा नैं आँच आउने गरी चर्चा परिचर्चाहरु भए, यो गलत हो बैंकले भनेको छ । घोटाला प्रकरणका बारेमा प्रहरीले अनुसन्धान गरिएको छ, तर केही सञ्चार माध्यमहरुलाई कटुवाललाई नैं दोषी देखाउने गरी समाचार संप्रेषण गर्नु कुनै पनि हालतमा पत्रकारिताको धर्म अनकुल छैन, बैंकले भनेको छ ।