बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

बालकृष्ण​​​​​​​ खाणविरुद्ध प्रमाण जुटाउँदै प्रहरी

सोमबार, बैशाख २५ २०८०

काठमाडौँ – पक्राउ परेका अभियुक्तले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको समेत नाम बयानमा लिएका छन् । तर, प्रमाण नभेटिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जीको प्रक्रिया भने अघि बढेको छैन । बयानमा आएको विवरणअनुसार गिरोहलाई सघाएको प्रमाणको खोजीमा प्रहरी छ ।

बालकृष्ण पन्थी कार्यलदको प्रतिवेदन कार्यान्वयनका लागि भनेर आफूहरूले तत्कालीन गृहमन्त्री खाण र सचिव पाण्डेलाई पैसा बुझाएको सानु भण्डारीको दाबी छ । उनले पैसा बुझाएको मितिसमेत टिपेर राखेका छन् । एक करोड २४ लाख बुझाएको दाबी छ । त्यसको मितिसमेत उनले प्रहरीमा दिएका छन् । नगद पैसा दिएको बताएपछि त्यसको प्रमाण फेला पार्न प्रहरीलाई सकस परेको छ ।

खाण मन्त्री रहेका वेला ठगी गर्ने गिरोहलाई सहयोग पुग्ने गरी गृह मन्त्रालयबाट केही नीतिगत निर्णय पनि भएको स्रोत बताउँछ । पहिलो, १९ मंसिर ०७८ मोरङ र झापा जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको सम्बन्धमा मन्त्रिपरिषद्का विभिन्न निर्णय कार्यान्वयन गर्न भनिएको छ । १३ मंसिर ०७८ मा बसेको मन्त्रिपरिषद्को बैठकले स्वेच्छिक स्वदेश फिर्तादेखि तेस्रो देशमा पुनस्र्थापनासम्बन्धी निर्णय कार्यान्वयन गर्न भनिएको छ । पुनस्र्थापनसम्बन्धी सोही विषय देखाएर बिचौलिया समूहले प्रक्रिया अघि बढेको भन्दै विश्वासमा पारेका थिए ।

त्यस्तै, २७ जेठ ०७९ मा झापाका प्रमुख जिल्ला अधिकारीलाई लिखित दिएर बिचौलियालाई सहयोग गरिएको थियो । छुट शरणार्थीको विषयमा अध्ययन गर्न झापाका सहायक सिडिओको अध्यक्षतामा बनेको समितिको म्याद दुई महिना थपिएको थियो । गृहसचिवस्तरीय निर्णयका आधारमा सो समिति बनेको थियो ।

साथै गृहको निर्देशनको पहिलो नम्बरमा समितिले उपसमिति गठन गर्न सक्ने उल्लेख छ भने दोस्रो नम्बरमा भनिएको छ, ‘सो विषयमा (भुटानी शरणार्थी) पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठिन समितिले पेस गरेको प्रतिवेदनसमेत अध्ययन गरी छुट शरणार्थीहरूसमेतका सन्दर्भमा दीर्घकालीन रूपमा समस्या समाधान, तर व्यवस्थापनका लागि राय एवं सुझावसहित पेस गर्ने ।’

यो बुँदाबाट बिचौलिया समूहकै स्वार्थमा पत्राचार भएको पुष्टि हुन्छ । त्यति निर्णय गराउन पनि गृहको नेतृत्वलाई पैसा बुझाउनुपरेको बयान पक्राउ परेका भण्डारीले दिएका छन् । तर, अहिलेसम्मको प्रमाणले नीतिगत निर्णय मात्र देखिएको र लेनदेन पुष्टि नभएकाले खाणविरुद्ध प्रहरीले पक्राउ पुर्जीको प्रक्रिया अघि बढाउने आँट गरेको छैन । नेता खाणले भने शनिबार विज्ञप्ति निकाल्दै आफूमाथि लागेको आरोप आधाररहित र तथ्यहीन भएको दाबी गरेका छन् । नयाँ पत्रिकाबाट