काठमाडौं । मनमोहन अधिकारीको २४ औं स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको शालिकमा माल्यार्पण गरेका छन् ।

२४ औं स्मृति दिवसको अवसरमा बुधवार सानेपास्थित मनमोहन स्मृति प्रष्ठिानमा पुगेर उनले माल्यार्पणहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो ।
अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष थिए ।

नेपालका लोकप्रिय प्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा हृदयघात भएपछि उपचारका क्रममा निधन भएको थियो ।
नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा ०५१ मा नेकपा एमालेले नेपालमा पहिलो कम्युनिष्ट सरकार चलाएको थियो।
९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउँदै आएको छ। अधिकारी प्रधानमन्त्री भएकै बेला आफ्नो गाउँ आफै बनाउँदेखि सामाजिक सुरक्षा भत्तालगायतका निकै लोकप्रिय कार्यक्रम ल्याएका थिए।
अहिले पनि एमालेले हरेक निर्वाचनमा ०५१ को ९ महिने सरकारका लोकप्रिय कार्यक्रमको चर्चा गर्दै आइरहेको छ। अधिकारीले तत्कालीन समयमा पार्टी अध्यक्षको नेतृत्व समेत सम्हालेका थिए।
