बर्दिबास । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट दिएका मतदाताले आफूहरूले हावामा भोट हालेको महसुस गर्न थालेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले वर्तमान सरकार अलोकतान्त्रिक भएको आरोप लगाए ।
उनले आम नागरिक र बौद्धिक समुदायले सरकारको कार्यशैली बुझ्न थालेको दाबी गरे । ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन् । बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ । नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरीबतास मात्रै रहेछ यो भनेर । तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ । त्यो काम चाहिँ हामी गर्छौँ,’ उनले भने ।
प्रचण्डले पार्टीको जागरण अभियानमार्फत सरकारका अलोकतान्त्रिक गतिविधिको भण्डाफोर गर्ने बताए । सरकारविरुद्ध परिस्थिति हेरेर आन्दोलन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।
त्यस्तै, लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग मधेस प्रदेश सरकारको स्थायित्वका लागि सघन छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ थियो ।