आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सहमति फितलो भएको भन्दै मिटरब्याजीबाट पीडित दोस्रो टोली आन्दोलित

मंगलबार, चैत्र २१ २०७९

काठमाडौं । मिटरब्याज पीडितको दोस्रो टोलीले राजधानीमा प्रदर्शन थालेका छन् ।

देशभरका विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरूले सोमबार माइतीघर मण्डलामा मिटरब्याजविरुद्ध प्रदर्शन गरेका थिए । माइतीघर मण्डलाबाट भद्रकालीसम्म विरोध र्‍याली गरेर उनीहरूले सिंहदरबार अगाडि कार्यक्रम गरेका थिए । यहाँबाटै उनीहरूले अगाडिका कार्यक्रम पनि तय गरेका छन् ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान(मजदुर संघर्ष समिति नेपालको आयोजनामा भएको प्रदर्शनमा उनीहरूले किसानको भूमि फिर्ता गर, फर्जी, सुदखोरहरूको सम्पत्ति खारेज गर, तमसुकका आधारमा भूमि लिलामी बन्द गर, मिटर ब्याजीलाई कारबाही गर, अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोेकेका थिए ।

गत शनिबार सरकारले मिटरब्याज पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दा चलिरहेको थियो । साथै सरकारले आयोग गठन गरेर मिटरब्याजको समस्या समाधान गर्ने र पीडितलाई न्याय दिने बताएको छ ।

आइतबार संसद्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या दीर्घकालीन समाधान गर्न र पीडितलाई न्याय दिन आयोग गठन गर्ने बताएका थिए ।
चैत १३ मा काठमाडौंमा आएको मिटरब्याज पीडितसँग सरकारले पाँच बुँदे सहमति गरेको भए पनि अर्को समूहले भने सो सहमति फितलो रहेको दाबी गरेको हो । सहमतिप्रति असन्तुष्ट समूहले सोमबार प्रदर्शन गरेको हो ।

एक हजारभन्दा धेरै पीडितहरू आइतबार राति नै बसबाट काठमाडौंका लागि प्रस्थान गरेका थिए । उनीहरू २० जिल्लाबाट काठमाडौं आएको समितिले जनाएको छ । सरकारले आफ्ना माग पूरा नगरेसम्म घर नफर्किने भन्दै उनीहरूले प्रदर्शन गरिरहेका छन् ।