आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कोइराला आँफै मैदानमा उत्रिने भएपछि थापालाई झन संकट

शुक्रबार, पुष १ २०७९

काठमाडौं । गत चुनावमा अन्य भन्दा केही सिट बढी ल्याएर ठूलो बनेको दल नेपाली कांग्रेसमा दलको नेता को बन्ने भन्ने चर्चा छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुन प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा उठ्ने लगभग निश्चित छ । यसैगरी संस्थापन इतर पक्षबाट महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिने बताइरहँदा कांग्रेस नेता शेखर कोइराला संसदीय दलको नेतामा उठ्नेगरि तयारीमा जुटेका छन् । यसो भए इतरपक्षबाट दलको नेतामा दुई जना कोइराला र थापा हुनेछन् ।

पछिल्लो समय आफूनिकट नेताहरुसँगको सघन छलफलपछि कोइराला दलको नेताको लागि आँफै मैदानमा उत्रिने तयारीका साथ अघि बढेका छन् । यता, थापाले भने आफूले दलको नेतामा उठ्ने भनेर चुनावअघि नै घोषणा गरेकोले कुनैपनि हालतमा ब्याक नहुने बताईसकेका छन् ।

संस्थापनइतर समूह भनेर चिनिने कोइराला थापा समूहबाट नै दलको नेतामा दुई जनाको उम्मेदवारी पर्ने निश्चित् भएपछि सो समूहका नेताहरु यतिवेला चिन्तामा छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा उठ्ने छन् । देउवा दलको नेता बन्नेमा ढुक्क छन् ।

अधिकांश सांसद देउवानिकट भएकोले पनि दलको नेता बन्न उनलाई सहज हुने अनुमान छ ।

कोइराला पक्षमा भने दलको नेतामा साझा उम्मेदवार पनि नहुने भएपछि अब यो समूह अस्तित्वमा रहनेबारे पनि प्रश्न उठ्न थालेको छ ।

यसैबीचमा थापाले कोइरालासँग एक्लाएक्लै भेटवार्ता गरेर दलको नेतामा आफूलाई सघाउन आग्रह गरेका थिए । तर, थापाको प्रस्तावबारे कोइरालाले कुनै जवाफ दिएका थिएनन् । कोइराला आँफैले भने अब थापासँग भेटेर सहयोग माग्ने तयारी गरेको स्रोतको दाबी छ ।

पछिल्लो महाधिवेशन पछि कोइराला गगनको कार्यशैली प्रति त्यति विश्वस्थ र खुशी नभएको उनी निकट नेताले बताउँदै आएका छन् । महामन्त्री निर्वाचित भएसँगै थापा परिवर्तन भएको उनीहरुको आरोप छ । कोइराला पक्षका मानिएका हाल कांग्रेसले कारवाही गरेका नेता अमरेशकुमार सिंहले गगन थापा वर्तमान प्रधानमन्त्री देउवा भन्दा अझ स्वार्थ केन्द्रीत भएको बताउनु त्यसको एक उदाहरण हो ।

यता वरिष्ठ नेता रामचन्द्र पौडेल पनि कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै आएका छन् । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, भन्दै पौडेलले प्रधानमन्त्रीसँग आग्रहसमेत गरेका छन । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने उनको दावी छ ।  गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको उनी बताउँदै आएका छन् ।