आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

सूर्य थापा भन्छन् : एमाले र कांग्रेस मिलेर मुलुकमा स्थिरता दिनुपर्छ

शुक्रबार, पुष १ २०७९

बुटवल  । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले एमाले र नेपाली कांग्रेस मिलेर मुलुकमा स्थिरता दिनु पर्ने बताएका छन् ।

बुटवलमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले वामपन्थीको नाममा च्याँखे थाप्ने प्रवृत्ति बढिरहेको र त्यसलाई रोक्दै जनताको म्यान्डेट अनुसार मुलुकलाई विकास र समृद्धि दिन एमाले र कांग्रेस मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

प्युठानबाट प्रतिनिधि सभा सदस्य निर्वाचित थापाले मुलुकमा मुख्य दुई शक्ति काँग्रेस र एमाले मात्रै रहेको दाबी गर्दै अर्काको झोला बोक्नेसँग सहकार्य गर्न नहुने बताए ।

प्रचण्डप्रति लक्षित गर्दै थापाले भने, ‘जनताले अहिलेको निर्वाचनबाट वामपन्थी सरकार बनाउने म्यान्डेट दिएका छैनन् । यसबाट अस्थिरता निम्तिने खतरा बढेको छ । तै पनि ठूला दुई शक्ति कांग्रेस र एमाले मिल्दा पाँच वर्ष स्थिरता दिन सकिने सम्भावना बलियो छ ।’ प्रचण्ड विश्वसनीयताको ठूलो सङ्कटमा भएकाले उनलाई विश्वास गर्न नसकिने थापाको भनाइ छ ।

‘२०७४ सालमा बाम गठबन्धन नीति र सिद्धान्तमा आधारित रहेर गरिएको थियो तर, त्यसलाई माओवादीले उपयोग गरी पार्टी कब्जाको रणनीति बनायो,’ थापाले भने ।
यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो भने आफ्नो असहमति रहने र ‘नोट अफ डिसेन्ट’ लेख्ने थापाले बताए । विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क छ ।

थापाले मुलुकको विद्यमान निर्वाचन प्रणालीबारे बहस चलाउनुपर्ने आवश्यकता पनि औंल्याए । संविधान जारी गर्ने बेलामा अहिलेको निर्वाचन प्रणालीको चर्को वकालत गर्नेहरू कसको इशारामा चलेका थिए भन्ने पुष्टि क्रमशः हुँदै गएको थापाले बताए । नेपालमा अस्थिरता निम्त्याउन स्वार्थको रोटी सेक्ने तत्वहरू अहिलेसम्म सफल भएको उनले बताए ।