काठमाडौं । बुधबार कास्की पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै आफू देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताएका छन् । उनको भनाइ स्पष्ट रुपमा भावी प्रधानमन्त्रीको कुर्सीमा आफू हुने हो ।
उनले भनेझैँ भावी प्रधानमन्त्री हुन उनको पार्टीले न सबैभन्दा ठूलो पार्टी बनेको छ न उनीसामेल सत्ता गठबन्धनले नै आवश्यक बहुमत ल्याएको छ । तर, प्रचण्डले किन यति सजिलै भावी प्रधानमन्त्री आफू नै हुने दाबी गरिरहेका छन् ।
चुनाव अघि अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताउँदै आएका प्रचण्ड पार्टीले यति विघ्न पराजय भोगेर तेस्रो बनेको अवस्थामा छ । त्यहाँमाथि जनमत यति तल पुगेको अवस्थामा पनि सरकारको नेतृत्वकाे दाबी कसरी गर्न सकेका होलान् ?
असोज ३० गते काठमाडौँ क्षेत्र नम्बर २ मा भएको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवा र प्रचण्डलाई देखाउँदै वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यहीँ छन् भनेका थिए । सत्ता गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भन्ने सहमति नभएपनि उनको भनाइले चुनाव पछिको प्रधानमन्त्री बाँडीचुँडी हुने भन्ने बुझाउँथ्यो । त्यो कुरालाई कांग्रेसका नेताहरु पनि स्वीकार्छन् । तर, अहिले सत्ता गठबन्धनभित्र बाँडीचुडी नेतृत्वको लागि पनि पहिले को प्रधानमन्त्री बन्ने विवाद छ ।
प्रचण्ड बुधबार आफूले पढेको महेन्द्र आधारभूत विद्यालय, कास्कीको हिरक जयन्ती महोत्सवमा सहभागी हुँदै देशको नेतृत्व आफूले गर्ने सुनाए । उनले भने ‘सायद अब धेरै वर्ष छैन मसँग । तपाईंहरुको आशिर्वाद लाग्यो, तपाईंहरुको माया र शुभकामनाले काम ग-यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु र यो मेरो तेस्रो कार्यकाल हुनेछ ।’
उनको यो भनाइबाट के प्रष्ट हुन्छ भने भावी प्रधानमन्त्री उनी नै हुँदैछन् । कि कांग्रेससहितको सत्ता गठबन्धनमा उनी प्रधानमन्त्री हुँदैछन् कि एमालेसहितको गठबन्धनमा ।
प्रचलित संविधानको धारा ७६ (२) अनुसार सरकार गठन हुने भएको छ । तर, हालसम्म कुनै पनि दलले सरकार गठनका लागि आवश्यक पर्ने साधारण बहुमत १३८ सांसदको समर्थन जुटाउन सकेका छैनन् ।
सत्तारुढ गठबन्धनभित्र सरकार गठनका विषयमा एक मत छैन । गठबन्धनको नेतृत्व गरेको कांग्रेसभित्रै नयाँ सरकारको नेतृत्व लिन विषयमा पनि एकमत छैन । माओवादी नयाँ सरकार गठनमा पर्ख र हेरको अवस्थामा छ । सरकारको नेतृत्व गर्न जुन दलले दिन्छ, उसैलाई समर्थन गरेर आलोपालो सरकार गठनमा जाने माओवादी केन्द्रको तयारी छ ।
प्रचण्ड मिलेसम्म सत्ता गठबन्धनबाट पहिलो कार्यकालमै सरकारको नेतृत्व गर्न चाहान्छन् । त्यसो नभए उनी कांग्रेसइतरका शक्तिहरु मिलाएर सरकार बनाउने पक्षमा छन् । कांग्रेसको संसदीय दलको नेता को हुने भन्ने यतिबेला चर्चा छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ । कांग्रेस भित्रको आन्तरिक विवादलाई नजिकबाट नियालिरहेका प्रचण्ड उसको संसदीय दलको नेतामा देउवा नभएर अरुनै भए देउवाको समर्थन आफूलाई हुने आसमा पनि छन् ।
चुनावको सबै परिणाम आइसकेको छ । सत्ता गठबन्धन गरेर चुनावमा गए पनि गठबन्धनमा रहेका दलले सामान्य वहुमत पनि नल्याएको अवस्था छ । अब अर्को कुनै पनि दलको समर्थनमा मात्र उनीहरुले प्रधानमन्त्री बनाउनु पर्ने अवस्था छ । यसरी बनाइएको बहुमत अनुसार कांग्रेस माओवादीलाई सरकारको नेतृत्व सुम्पन चाहँदैन । तरपनि प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बन्ने बताउनाले कांग्रेसको मनमा संशय पैदा हुन थालेको छ ।
केही दिन अघि कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग पनि उनले भावी प्रधानमन्त्री आफू हुन चाहेको र त्यसले सत्ता गठबन्धनलाई फाइदा पुग्ने बताएका थिए ।
प्रचण्डले स्वतन्त्रबाट प्रतिनिधिसभामा विजयी भएका प्रभु साहलगायतसँग पनि छलफल गरिसकेका छन् । प्रचण्ड साना दलहरूलाई एकीकृत गरेर शक्ति निर्माण गर्ने र कांग्रेससँग सरकारको कार्यकारी पदका लागि बार्गेनिङ गर्ने सोँचमा रहेको उनी निकट नेताहरुको भनाइ छ।
उनले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् ।
अझ बामशक्ति एक हुनुपर्ने भन्दै माओवादी र एमाले भित्रका दोस्रो तहका नेताहरुले भन्न थाल्नु, एमालेले सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको चर्चा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनीहरुको भेटघाट बाक्लिनुले पनि त्यसमा थप मलजल पुगेको छ ।