काठमाडौं । सोमबार प्रधानमन्त्री सहभागी एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भयो ।
राष्ट्रिय विभूति भीमसेन थापाको २४८ औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान गर्ने समारोहमा सहभागी भएका प्रधानमन्त्री देउवाविरुद्ध एक युवकले नाराबाजी गरे । तत्काल सुरक्षाकर्मीले उनलाई लछारपछार पार्दै बाहिर निकाले, सोही बेला अर्का एक युवक पनि एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद भन्दै नारा लगाउन थाले, उनलाई पनि सुरक्षाकर्मीले घोक्याउँदै बाहिर निकाले ।
नागरिकता विधेयक र एमसीसीको बिरोध गर्दै उनले नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री देउवाले सम्बोधन गर्न माइक तर्फ जाँदै लाग्दा उनले नारा लगाएका थिए । नागरिकता विधेयक खार्ज गर्, एमसीसीको मतियार देउवा मुर्दावाद् लगायतका नारा उनले लगाएका थिए । आफूविरुद्ध नारबाजी भइरहँदा देउवाले पनि उनीतर्फ हेरेका थिए ।
उनले नारा लगाइरहँदा सुरक्षाकर्मीले उनलाई बाहिर निकालेका थिए ।
सोमबार घटेको यो घटनालाई सामाजिक सञ्जालमा धेरैले प्रतिक्रिया दिएका छन् । यसैबीच केहीले यसलाई सकारात्मक सुरुवातका रुपमा लिएका छन् । यस्ता आँट र हिम्मतले नेताहरु सुध्रिन मौका मिल्ने उनीहरुको तर्क छ । यति अब पनि नेता नसुध्रिए जनताले यसरी नै उनीहरुको प्रतिकार गर्ने उनीहरुको भनाइ छ । तर, केहीले भने यो अराजक गतिविधि भएको बताएका छन् । यस प्रकारको क्रियाकलापले व्यवस्थामाथि नै प्रहार हुनसक्ने उनीहरुले बताएका छन् ।