आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध मुद्दाका फरार व्यक्ति पक्राउ

मंगलबार, भाद्र २९ २०७८

पर्सा, l विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध मुद्दाका फरार व्यक्ति वीरगंज महानगरपालिका–२४ बस्ने ३३ वर्षीय विवेक सिंह भन्ने फुलहसन अन्सारीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

२०७६ साउन २४ गते बेलुकी वीरगंज महानगरपालिका–४ स्थित बिर्ता बजारमा तथा सोही महिनाको २८ गते बेलुकी सोही महानगरपालिका–८ घण्टाघर नजिक तरकारी बजारमा सुतली बम पड्काई भयत्रास फैलाएको तथा वीरगञ्जका उद्योगी व्यापारी र सर्वसाधारणलाई फोनबाट धम्काउने समेतका आपराधिक कार्यका उनी मुख्य योजनाकार थिए ।

सोही अपराधमा संलग्न वीरगंज महानगरपालिका–२४ बस्ने इनुस अन्सारी, जौवाद अन्सारी, सद्दाम अन्सारीलाई २०७६ भदौ ४ गते ४ थान गोली र सुतली बम सहित पक्राउ भएकोमा जिल्ला अदालत पर्साबाट विष्फोटक पदार्थ, खरखजना तथा संगठित अपराध अन्तर्गत कसूरमा जनही २ वर्ष ६ महिना कैद र २५ हजार जरिवाना फैसला भई कारागार कार्यालय पर्सामा कैद सजाय भोगिरहेको र फुलहसन अन्सारीको हकमा मुद्दा मुल्तबी रहेको थियो । 

उनी भारतको मुजफ्फरपुरमा पहिचान ढाँटी अंकित पटेलको नामबाट भारतीय आधार कार्ड बनाई बस्दै आएको, बेलाबखत रक्सौल आई वीरगञ्जका उद्योगी तथा व्यापारीहरूलाई फोनमार्फत धाकधम्की दिई रकम असुली गर्ने गरेको र वीरगञ्जमा घटना घटाउने योजना बनाएको भन्ने जानकारीको आधारमा भारतीय प्रहरी समेतको सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगञ्ज रामगढवास्थित उनकै घरतर्फ आउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

फुलहसन यस अघि २०६५ पुस ७ गते वीरगंज उपमहानगरपालिका–१३ बस्ने राजेश क्याललाई गोली हानी हत्या गरेको घटनामा पक्राउ परी अदालतबाट सर्वस्वसहित जन्मकैद ठहर भएकोमा २०७४ असोज ८ गते बाँकी कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट कैद मुक्त भएका थिए । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।