आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

संखुवासभा हत्या प्रकरण: नातामा भतिजा पर्ने लोकवहादुर नै हत्यारा भएको प्रहरीको निश्कर्ष !

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । संखुवासभा मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ।

प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएको  छ।

प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी दीर्घ रोगी रहेको खुलेको छ। प्रहरीले उनीमाथि तीन दिनदेखि सोधपुछसँगै निगरानी गर्दै आएको थियो।

पारिवारीक दुश्मनीका कारण घटना भएको प्रहरीले जनाएको छ। मृतकको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारणले घटना नभएको प्रहरीको निष्कर्ष  छ।कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।

उनीहरूलाई पालैपालो टाउकोमा प्रहार गरेर हत्या गरिएको थियो।  प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। 

परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा शव फेला परको थियो। 

बुधबार उनीहरु ६ जनाकै दाहसंस्कार सुनसरीको इटहरीस्थित बुढीखोलामा गरिएको छ। मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण भएपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको हो।