काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुराज्य माओवादी केन्द्रको नीति रहेको बताउनुभएको छ । उपप्रधानमन्त्री राजेन्द्र महतोको बहुराज्यबारेको टिप्पणी विवादित भैरहेको समयमा मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो ।
उहाँले माओवादी केन्द्रको बहुराज्यको नीति परिवर्तन भए जसपाको पनि बदलिने बताउनुभएको छ । उहाँले भन्नुभएको छ ‘जसपाका कतिपय नीतिसंग हाम्रा विमती हिजो पनि थिए र आज पनि छन नै ।
आज जुन कुराको तिव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति हो । आज माओवादी केन्द्रको उक्त नीति वदलिएको हो भने जसपाको पनि अवश्य वदलिनेछ । तर राष्ट्र र राज्यका वारेमा हामी हिजो पनि स्पष्ट थियौ र आज पनि स्पष्ट नै छौ ।’
आलोचना बढेपछि मध्यरातमा आयो राजेन्द्र महतोको यस्तो स्पष्टीकरण
विवादास्पद अभिव्यक्तिले आलोचित बनेका कम चलाउ सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको प्रष्टिकरण दिएका छन ।
शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए। उनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महतोले गए राति एक विज्ञप्ति जारी गर्दै आफ्नो अभिव्यक्ति सच्याएका हुन्।
उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भन्दै स्पष्ट पारेका छन् ।
‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समुदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, महतोको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो अभिव्यक्तिलाई गलत रुपमा प्रचार गरिएको दावीसमेत महतोले गरेका छन्। विवादास्पद अभिव्यक्ति दिने उपप्रधानमन्त्री महतोलाई पदबाट हटाउनुपर्ने मागसमेत उठेको थियो भने विद्यार्थीले त उनको पुतलासमेत जलाएका थिए ।