आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सेनामा विशेष सम्बोधन गर्ने प्रधानसेनापति थापाको तयारी

बुधबार, जेष्ठ १२ २०७८

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यकाल सकिन लाग्दा सकलदर्जालाई सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानसेनापति थापाले प्रधानसेनापतिमा नियुक्त भएको १ हजार दिनको अवसरमा जेठ २३ मा विशेष सम्बोधन गर्ने तयारी गरेको सैनिक स्रोतले जानकारी दियो । सैनिक स्रोतकाअनुसार थापाले आफ्नो तीन वर्षे कार्यकालमा गरेका काम र भावी नेतृत्वको चयनको विषयमा आफ्ना धारणा राख्ने तयारी गरेका छन् ।

प्रधानसेनापति थापा २०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । उनको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिंदैछ । एक महिना पहिला विदमा बस्ने सैनिक परम्पराअनुसार थापा आगाीमा साउन २४ मा विदामा बस्नेछन् । उनले आफु निकट सैनिक अधिकारीहरुलाई आफु समयमै विदामा बस्ने र नेतृत्व हस्तान्तरणको लागी पनि समयमै प्रक्रिया सुरु गर्ने बताइसकेका छन् ।

प्रधानसेनापति थापाले सम्बोधनका क्रममा नेतृत्वको हस्तान्तरण गर्नेबारे पनि आफ्ना भनाई राख्ने तयारी छ । सेनापति थापा पदावधी थप्न लविङमा लागेको चर्चा चलेपछि प्रधानसेनापतिले आफु त्यो खेलमा नरहेको र नेतृत्वको हस्तान्तरण सैनिक नियम र परम्पराअनुसार हुने सन्देश दिन खोजेको सैनिक स्रोतले काठमाण्डुपाटीलाई बतायो ।

थापाले अवकास पाएपछि नेपाली सेनामा हालका बलाधिकृतरथी प्रभुराम शर्मा सेनाको प्रधानसेनापति बन्ने लाईनमा छन् । सेनामा दुई जना रथीको दरबन्दी छ । सेनाका अर्का रथी ईश्वर हमाल भने हाल फोर्स कमाण्डरका रुपमा मिसनमा कार्यरत छन् । उनी रथीमा बढुवा भएदेखी नै अनडफ मिसेनमा फोर्स कमाण्डरका रुपमा जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रधानसेनापतिको लाईनमा रहेका शर्मा २० बेसिकका सैनिक अधिकृत हुन । उनले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् । शर्मा २०७७ बैशाख १४ मा रथीमा बढुवा भएका थिए । उनि सेनाभित्र भद्र र व्यवसायिक सैनिक अधिकारीका रुपमा चिनिन्छन् ।

सैनिक ऐनअनुसार प्रधानसेनापति नियुक्तीको लागी सिफारिस प्रधानसेनापति थापाले नै वरिष्ठतम रथीबाट गर्नुपर्नेछ । सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा सेनाका वरिष्ठतम रथी मध्येबाट एक जनालाई प्रधानसेनापति नियुक्त गर्ने व्यवस्था छ ।

प्रधानसेनापति थापाले शर्मालाई नै सेनापतिको रुपमा सिफारीस गर्ने मनासाय बनाइसकेको सैनिक स्रोतको दावी छ । उनले आफु बिदामा बस्नुअघि नै उनको सिफारीस गर्ने तयारी गरेका छन् ।