काठमाडौं । सिरहा, बिष्णुपुर गाउँपालिका–१ बिष्णुपुर कटनिया नहरस्थित सडकमा स.९ प ७२०३ नम्बरको मोटरसाइकलले स.१ प ७९८१ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा स.१ प ७९८१ नम्बरको मोटरसाइकल चालक बिष्णुपुर गाउँपालिका–१ बस्ने ५६ वर्षीय राजेन्द्र प्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्तपताल हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–९ भरतपुरस्थित सडकमा बा.३६ प ४१४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोनमा गाउँपालिका–४ खेस्राहा बस्ने ४० वर्षीय कपुरी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटि हेल्थ केयर गौशालामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।