सुनसरी – सुनसरीमा कोभिड–१९ को महामारीविरुद्ध नेपाली सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै प्रमुख सहरहरूमा सेना परिचालन गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
सुनसरीमा सक्रिय संक्रमितको संख्या अत्यधिक बढेको, मृतकहरूको संख्या पनि बढेपछि जिल्ला प्रशासनले जेठ १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि मानिसहरू घुमफिरमा निस्कने, बाहिर सटर लगाए पनि भित्र उपभोक्तासँग कारोबार गर्ने, अनावश्यक सवारीसाधन चलाउने गरेकाले थप कडाइ गर्न सेना परिचालन गर्नु परेको प्रजिअ ढकालले बताए।
उनले भने, ‘शनिबार बसेको जिल्ला सुरक्षा समन्वय समितिको निर्णयअनुसार कोभिड महामारीविरुद्ध सेना परिचालन गरिएको हो । सेनाले कोरोना महामारी फैलनबाट रोक्न गस्ती गर्दै जनचेतनामूलक कार्यक्रम गर्नेछ ।’
उनका अनुसार जनपद र सशस्त्र प्रहरी सडकमा खटिएसँगै जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीको लागिभन्दा पनि कोभिड महामारीविरुद्ध अभियान चलाउन खटाइएको हो ।
प्रजिअ ढकालले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतना फैलाउन सेना परिचालन गरिएको बताए । उनका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउन थालेका छन् । सेनाले वीरगन्ज, काठमाडौं, दाङलगायतबाट खाली सिलिन्डर लिएर आउनेलाई सुनसरीमा भएका तीन उद्योगबाट भरेर पठाइदिने र आइसोलेसन सेन्टरमा खट्ने गरिरहेको प्रजिअ ढकालले बताए । जिल्ला प्रशासनले पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लंघन गरेको सूचना पाए संक्रमण ऐन, २०२० अनुसार पक्राउ गरी कारबाही गर्न प्रहरीलाई निर्देशनसमेत दिइएको उनले बताए ।