काठमाडौं । एमालेइतर समूहमा लागी राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित गराउने अभियानमा लागेको भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई थप कारबाही गर्ने तयारी गरेका छन्।
विहीबार भएको स्थायी कमिटी बैठकमा नेपालले एमालेको निर्णयविपरित आफू पक्षधर खिमलाल देवकोटालाई उम्मेदवार बनाउन नेपाली कांग्रेस, नेकपा माओवादी र जनता समाजवादी पार्टीका उपेन्द्र यादवसँग मिलेर पार्टी निर्णयको विपरित लागेको भनी थप कारबाही गरिन लागिएको हो।
यसअघि दुई पटक स्पष्टिकरण सोधी ६ महिनाका लागि निलम्बन गरिए पनि पार्टी हितविपरित काम गर्न नछाडेको भनी उनको प्रतिनिधि सभा सदस्य पदबाट निलम्बसहित पार्टीबाटै निस्काशनको तयारी भएको स्रोतले बतायो।
उक्त विषयमा स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले नेताहरुसँग कारबाही कुन प्रकृतिको गर्ने भन्ने राय माग गरेका थिए। नेपालको आगामी भूमिका हेरेर त्यसैका आधारमा कारबाही गर्नुपर्ने बताइएको छ।
नेता नेपालका कारणले नै बागमतिबाट उपनिर्वाचनमा गृहमन्त्री तथा स्थायी कमिटी सदस्य रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने विषयमा एमाले ठोस निर्णयमा पुग्न सकेन।
पार्टीको चुनाव चिन्हको समेत ख्याल नगरी माओवादीको चुनाव चिन्हलाई रोज्दै नेपालले एमालेविरुद्ध एक पछि अर्को काम गरिरहेको बताइएको छ। ‘पार्टी अध्यक्षलाई कमजोर बनाउने, पार्टी हराउने रणनीतिमा लागेका मानिसलाई यो पार्टीमा बस्न आवश्यक छैन’, एमालेका एक नेता भन्छन्,‘त्यसैले उनीमाथि कारबाही हुनेछ।’
सर्वोच्च अदालते पार्टी ब्युँताएदेखि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न चरणमा अवैधानिक हिसाबले भेट गरी एमालेलाई कमजोर बनाउने खेलमा नेपाल लागेको आरोप पनि लगाइएको छ।
पछिल्ला दिनमा विश्वासको मत लिने प्रधानमन्त्रीको निर्णयविरुद्ध प्रतिनिधि सभामा फ्लोर क्रस गर्नेसम्मको सहमति विरोधी पार्टीसँग गरेर अन्तरघातको तयारी गरेको अभियोग पनि नेपाललाई लगाइने भएको छ।