दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउलीबजारस्थित भित्री सडकमा पार्किङ गरी राखेको आरजे ०१ सिसि ०८८५ नम्बरको भारतीय कारभित्र शनिबार साँझ सडीगलेको अवस्थामा ३ जना बालक मृत फेला परेका छन् । मृत फेला पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बस्ने भिम बहादुर परियारका छोरा ९ वर्षीय सन्देश परियार, कर्ण परियारका छोरा ८ वर्षीय करण परियार र सन्तोष परियारका छोरा ७ वर्षीय सुबर्ण परियार रहेको भन्ने बुझिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानको लागि गाडीका साहु र चालकलाई नियन्त्रणमा लिएको छ ।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–९ बस्ने ६३ वर्षीय आङदावा तामाङ आफ्नै घरबाट ३ सय मिटर टाढा जयदुङ खोलामा शनिबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । झापाको दमक नगरपालिका–७ बस्ने ४६ वर्षीय सरोज सुब्बा सोही ठाउँस्थित रतुवाखोलामा शनिबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।