बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुट !

आइतबार, बैशाख १९ २०७८

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट एउटा समूह टुक्रिएको छ । विप्लवको पार्टीका वरिष्ठ पोलिटब्युरो कृष्णप्रसाद धमला (गम्भीर) को नेतृत्वमा अलग पार्टी गठन भएको हो ।

विप्लवले केपी ओली नेतृत्वको सरकारसँग सम्झौता गरेपछि असन्तुष्ट रहँदै आएको समूह विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीबाट अलग भएको हो । 

शनिबार एक विज्ञप्ति जारी गर्दै जातिय, क्षेत्रीय, लैंगिक, दलित, मधिसे, महिला, सीमान्तकृत उत्पीडित समुदाय र भाषिक, सांस्कृतिक उत्पीडनमा परेका समूहहरू लगायत समग्रमा वर्गीय उत्पीडनको साथ र सहयोगमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्न  नयाँ पार्टी गठन गरिएको जानकारी दिइएको छ । 

शुक्रबार मजदुर दिवसको अवसर पारेर ५१ सदस्यीय जन–समाजवादी मञ्च पाटी गठन गरिएको जानकारी यस समूहले दिएको छ । अमूर्त भाषा प्रयोग गरिएको सो विज्ञप्तिमा विप्लवले आफूलाई देवत्वकरण गरी क्रान्तिलाई बिसर्जन तिर लगेको आशय व्यक्त गरिएको छ । 

‘नेतृत्वले  आफूलाई देवत्वकरण गरी क्रान्तिलाई बिसर्जन गर्ने प्रवृत्ति हावी रहेको हुनाले लक्ष्य र गन्तव्यसम्म पुग्न नसक्नु विडम्बना नै बनिसकेको सन्दर्भमा सामन्तवादी, साम्राज्यवादी, जडसुत्रवादी चिन्तन र प्रवृत्तिका विरुद्ध भीषण संघर्षको आँधिवेहरी सृजना गर्न अत्यन्त आवश्यक र जरुरी भइसकेको छ’ विज्ञप्तिमा भनिएको छ । 

विप्लवको पार्टी निकटको मजदुर संगठनमा पनि केहीदिन पहिला विद्रोह भएको थियो । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघबाट केही भीमदत्त अधिकारीको नेतृत्वको एक समूह संगठनबाट अलग भएको घोषणा गरेको थियो ।