काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपाल कम्युनिष्ट पार्टी एमालेले आफ्नो सरकार जोगाउनका निम्ती सांसद अपहरण गरेको आरोप लगाएका छन् । उनि भन्छन्, एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ । त्यहाँ अस्पतालमा मिलेमतो कति छ, त्यो त भोलि थाहा होला । यसबारे हामीले पनि खोजिरहेका छौँ । के भएको हो भनेर जानकारी लिइरहेका छौँ । हिजो कोभिड– १९ ‘टेस्ट’ गर्दा कोरोना नेगेटिभ देखिएको थियो, आज कोरोनाको बिरामी भनेर मान्छेलाई अस्पतालमा लगिएको छ । रातारात के भयो आइसियूमा राखिएको छ । पार्टीलाई जानकारी छैन । १२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ । हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । यसले यसको गम्भीरता देखाउँछ । फेरि त्यो त एमालेकै अस्पताल पनि हो ।
सत्ताका लागि ५० को दशकमा मौलाएको असंसदीय राजनीतिको पुनरावृत्ति हुँदैछ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक निर्णायक सांसद नाटकीय रूपमा ‘आइसियुमा’ भेटिएका छन् । उनको दल राष्ट्रिय जनमोर्चाले यसका लागि सत्तारुढ दललाई आरोपित गरेको छ ।
बुधबार दिउँसो राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभाको सम्पूर्ण काम प्रभावित भयो । तर, जब प्रदेश सभा स्थगित भयो, कोरोना पजिटिभ भएको भन्दै शाही अस्पतालको ‘आइसियू’मा भेटिए । जबकि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो ।
गण्डकीको सत्तासमीकरणमा सांसद शाही कति महत्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्बिरले देखाउँछ, जुन तस्बिर बुझेपछि उनी ‘बेपत्ता’ भए वा बनाइए भन्ने प्रश्नलाई थप पेचिलो बनाइदिन्छ । अविश्वास प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदै थियो, गण्डकी प्रदेश सरकारको भविष्यमाथि जनप्रतिनिधिले फैसला गर्दै थिए । प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने योजना प्रतिपक्ष दलहरूको थियो । मंगलबार रातिसम्म उनीहरू यसमा विश्वस्त पनि थिए ।
तर, जब बुधबार ‘जनमोर्चा’का सांसद शाही ‘बेपत्ता’ भए, प्रतिपक्ष दलहरू तनावमा देखिए भने सत्तापक्ष सांसद उत्साही । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने प्रदेश सभा बैठकमा उपस्थित थिए ।
जब कि अविश्वासको प्रस्ताव पारित गर्न ३१ सांसद आवश्यक पर्नेमा शाहीको अनुपस्थितिले ३० जना मात्र हुने भएपछि प्रस्ताव फेल हुने खतरा थियो । मतदानमा शाहीको अनुपस्थिति सत्तासमीकरणको दृष्टिकोणले निर्णायक थियो । यही कारण बुधबार दिनभर उनको ‘अज्ञात अवस्था’ शंकाको घेरामा परेको हो । संसद्मा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । मतदानपूर्वसम्म मुख्यमन्त्री स्पष्ट अल्पमतमा थिए ।
मंगलबार एमाले प्रदेश सभा सांसद मोहन रेग्मीले मत विभाजन हुने वेलासम्ममा अविश्वासको प्रस्तावको पक्षमा बहुमत नपुग्ने दाबी गरेका थिए । ‘केही दलका सांसदले हाम्रो इच्छा त सरकारलाई निरन्तरता दिने नै हो, तर केन्द्रबाट निर्णय भएर आएपछि गाह्रो भयो भनिरहनुभएको छ । उहाँहरूले पार्टीको केन्द्रमा कन्भिन्स पनि गर्न सक्नुहुन्छ । कर्णाली र लुम्बिनीको संस्कार पनि यहाँ आउन सक्छ । यी र यस्तै कारण सरकार जोगिनेमा विश्वस्त छु,’ उनले भनेका थिए । एमाले प्रदेश सभा सांसद रेग्मीको इसारा जनमोर्चाका सांसदतिर थियो ।
आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछि एमालेले अविश्वासको प्रस्तावको अघिल्लो दिन संसद् अवरोध गरेको थियो । मंगलबारको बैठकमा सत्तापक्षका सांसदले उठेर कोरोना परीक्षणको विषय उठाउँदै बैठक अवरुद्ध गरेका थिए । बैठक अवरोधबारे एमाले सांसद राजीव पहारीले कोरोना परीक्षण नगरी बैठक बस्नु सबैका लागि खतरा रहेको बताएका थिए । त्यसअघि अविश्वास प्रस्ताव दर्ताको सूचनापछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यरातमा संसद् अधिवेशन अन्त्य गराएका थिए ।
सांसद नाटकीय रूपमा ‘बेपत्ता’ जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेको र अवस्था थाहा नहुँदासम्म संसद्को कारबाही रोक्न उनकै पार्टीका सचेतक पियारी थापाले निवेदन दिइन् । शाहीको खोजी माग गर्दै पेस भएको निवेदनका कारण गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावउपरको मत विभाजन रोकिएको छ ।
उनकै निवेदनको व्यहोरा उल्लेख गर्दै प्रदेश सभा सचिव हरिराज पोखरेलले थापाको निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकाले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको सूचनामार्फत जानकारी दिए । बुधबार १ बजेका लागि बोलाइएको बैठक १ः४० मा सुरु भएको थियो । ४ बजे सभामुखले खाजाका लागि भन्दै २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । सोही समय थापाले निवेदन दिएपछि सभामुखको सोही निवेदनलाई आधार मान्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् ।
जनमोर्चाले मुख्यमन्त्रीको पद जोगाउन आइसियुमा राखिएको दाबी गरेको छ । पार्टीका नेताहरूको भनाइ छ, ‘उनी बिरामी हुन् भने हामीले भेट्न किन नपाउने ? सांसद खरिदबिक्रीका लागि भएका भेटघाट र अस्पताल बसाइका वेला उनी साच्चै संक्रमित भए भने उनको स्वास्थ्य र जीवनको जिम्मेवारी कसले लिन्छ ?’
जनमोर्चाकी सचेतक थापाले सांसद शाहीलाई कोरोना पजिटिभ भएर अस्पताल भर्ना भएको थाहा नपाएकै कारण आफूले खोजीका लागि निवेदन दिएको बताइन् । ‘उहाँ सम्पर्कमा आउनुभएन । अवस्था अज्ञात थियो । त्यस्तो अवस्थामा जीवनरक्षा गर्नुपर्छ भनेर हामीले निवेदन दिनु स्वाभाविक नै हो । उहाँ (सांसद शाही)ले संक्रमित भएको कुरा जानकारी दिनुपर्दथ्यो । त्यो दिनुभएन । एक मतले संसद्मा ठूलो महत्व राख्दथ्यो । त्यस्तो अवस्थामा हामीलाई शंका भयो । अब उहाँको नियत के हो भनेर हेर्नुपर्छ । कहिलेकाहीँ गल्ती हुन्छ । अवस्था बिग्रेको छैन । उहाँ निको भएपछि अनुसन्धान गरेर पार्टीले उपयुक्त निर्णय लिन्छ,’ उनले भनिन् ।
यता संसद् बैठक स्थगित भयो, अज्ञात भनिएका सांसद शाही पोखराकै चरक मेमोरियल अस्पतालमा पजिटिभ रोपोर्टसहित साँझ उपचाररत अवस्थामा भेटिए । अस्पतालले उनलाई भेट्न नदिए पनि उनी उपचाररत रहेको फोटो सार्वजनिक गर्र्दै अवस्था सामान्य रहेको बताएको छ । अस्पताल छाउनी बनेको छ । शाही भर्ना भएदेखि नै अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । जनमोर्चाका नेता–कार्यकर्तालाई शाहीलाई भेट्न दिइएको छैन ।
‘मंगलबारसम्म कोभिड– १९ देखिएको छैन । रातारात के भयो, उहा“लाई आइसियूमा राख्नुपर्ने अवस्था आयो ?’ जनमोर्चा कास्कीका अध्यक्ष शंकर बरालको प्रश्न मात्र होइन शंका पनि छ, ‘अविश्वासको प्रस्ताव असफल बनाउन राज्य पक्षबाट षड्यन्त्र भएको छ । उनको जीवन खतरामा रहेको देखिन्छ ।’ उनका अनुसार अस्पतालका एक डाक्टरले ‘सांसद शाही मर्न पनि सक्छन्’ भनेका छन् ।
बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद शाही र स्वतन्त्र सांसद मनाङे अनुपस्थित भएका थिए । मंगलबार स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएका सांसद मनाङे र शाही अनुपस्थित भएपछि उनीहरू कहाँ गए भनेर खोजी सुरु भएको थियो । जब ‘बेपत्ता’ सांसद शाही अस्पतालमा भेटिए, केही शंकास्पद रहस्य खुल्न थाले ।
लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा परीक्षण गरिएको पजिटिभ रिपोर्टमा उल्लेख भएअनुसार मंगलबार ४ बजे सांसद शाहीको स्वाब संकलन गरिएको छ । उनको पजिटिभ रिपोर्ट बुधबार बिहान ७ः३० बजे प्राप्त भएको छ ।
संसद् परिसरमा परीक्षण गरिएको समय उल्लेख छैन । त्यसको रिपोर्ट भने बुधबार बिहान ७ः२० मा प्राप्त भएको हो । लाइफकेयर डाइग्नोस्टिक सेन्टरका कन्सल्टेन्ट डा. अम्मर नागिलाले स्वाब लाइफकेयरमा नभई बाहिर संकलन गरेर ल्याइएको र परीक्षणका लागि दिइएको बताए । उनका अनुसार फेवासिटी हस्पिटलका हिमाल गौतमले स्वाब परीक्षणका लागि संकलन गरेर पु¥याएका थिए । फेवासिटीका इभेन्ट म्यानेजमेन्ट रहेका गौतम राष्ट्रिय जनमोर्चा कास्कीका सचिव हुन् ।
रिपोर्टमा स्वाब संकलन दिउँसो ४ बजे उल्लेख भए पनि उनले मंगलबार मध्याह्न १२ देखि १ बजेको बीचमा फेवासिटी अस्पतालमै गरिएको दाबी गरेका छन् । ‘फेवासिटी अस्पतालमा उहाँ (सांसद शाही) र भाइ सँगै आउनुभएको थियो । भाइलाई लक्षण देखेपछि दुवैको स्वाब संकलन गरेर लगेका हौँ,’ उनले भने । शाही बुधबार बिहान ११ बजेसम्म पार्टी नेताहरूसँग सम्पर्कमा थिए । मंगलबार रातिदेखि उनी कोठामा गएका थिएनन् ।
उनका अनुसार सांसद शाही र उनका भाइ जीवन दुवैमा कोरोना पजिटिभ देखिएको छ । तर, भाइलाई भने पजिटिभ आएको जानकारी नदिइएको उनले बताए । साँझ चरक मेमोरियल अस्पताल पुग्दा सांसद शाहीका भाइ विक्रम भने बाहिरै थिए ।
अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाही बिहान ९ बजे आफ्ना भाइसँगै उपचारका लागि आएको दाबी गरे । तर, सांसद शाहीको संसद् परिसरमा गरिएको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा परीक्षण गरिएको पजिटिभ रिपोर्ट लिएर अस्पताल पुगेका थिए । ‘कोरोना पजिटिभ रहेको रिपोर्ट लिएर आफ्नो भाइसहित आउनुभएको हो । हामीलाई अर्को परीक्षण गरिएको थियो भन्ने नै जानकारी थिएन । आएपछि उपचार गर्दिनँ भन्न मिल्दैन । मलाई त उहाँ सांसद हो भन्ने नै थाहा थिएन,’ प्रबन्ध निर्देशक पोखरेलले भनेका छन् ।
उता संसद्मा उपस्थित नभई चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका सांसद शाहीलाई भेट्न बुधबार राति मुख्यमन्त्री गुरुङ र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ अस्पताल पुगेका थिए । उनीहरू दुवै अस्पताल पुगे पनि सांसद शाहीलाई नभेटी अवस्थाको जानकारी लिएर फर्केका छन् ।
कोरोना संक्रमणको जोखिम रहने भन्दै बिरामीले स्वीकृत नदिएका कारण भेट्न नमिल्ने भन्दै अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले मुख्यमन्त्री र मन्त्रीलाई ब्रिफिङ गरेर फर्काएका थिए । सांसद शाहीको अस्पतालको छैटौँ तलामा उपचार भइरहेको छ । मुख्यमन्त्री र मन्त्री उक्त अस्पतालमै पुगेर फर्केका हुन् । कोरोना संक्रमित भएको थाहा पाएपछि आफूहरू जानकारी लिन आएको मुख्यमन्त्री गुरुङले बताए ।
यता, एमाले सांसद धनञ्जय दवाडीले इतिहासमै नभएको घटना सभामुखले गण्डकीमा गराएको भन्दै सभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सांसद अनुपस्थित हुँदैमा सदन स्थगित गर्नु दलीय राजनीतिबाट प्रेरित काम भएको र अलोकतान्त्रिक रहेको बताए । ‘संसारमै नभएको घटना गण्डकीमा सभामुखले घटाउनुभयो, भोलिबाट एकजना सांसद अनुपस्थित भए पनि स्थगित गर्दै जानुपर्छ । नभए सभामुखले तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भने । संसद् बैठकपछि सत्तारुढ दलका सांसद कृष्णबहादुर थापाले सभामुखले सही नगरेको टिप्पणी गरे ।
यसैबीच, सांसद शाहीको तेस्रो रिपोर्ट पनि पजिटिभ आएको अस्पतालले जानकारी दिएको छ । एउटा पजिटिभ र अर्को नेगेटिभ आएको रिपोर्ट भएपछि चरक अस्पताल आफैँले गरेको स्वाब संकलन परीक्षण गर्दा भने बुधबार साँझ पजिटिभ आएको अस्पतालले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ l