काठमाडौं । वैशाख १० गते बिहान बालुवाटारबाट आँसु झार्दै कराउँदै निस्किन् एक महिला । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली समूहमा खुलेकी उनले धम्क्याइन्,‘तिमीहरु मात्र लिनु मलाई नदिनू ।’
त्यस दिन एमालेका माधवकुमार नेपाल पक्षमा लागेका नेताका जिम्मेवारी खोसियो । त्यसैको पूर्वतयारी बैठक चलिरहेको थियो । ओलीले गठन गरेको महाधिवेशन आयोगक कमिटीको बैठकमा सुनसरीकी नेत्री भगवती चौधरीले भनिन्,‘मलाई जिल्लाको इञ्चार्ज चाहिन्छ। मैले चुनाव पनि हारे, पार्टी जोगाउनका निम्ति कम्ति मिहेनत गरेकी छु । फेरि चुनाव पनि विजयकुमार गच्छादारसँग लडाएपछि कस्तो सानदार प्रतिस्पर्धा गरें ।’
चौधरीले इञ्चार्ज नपाउने अवस्था आयो। त्यहाँ दाबी थियो प्रदेश १ का मन्त्री समेत रहेका जगदिश कुसियतको। सबै नेताले कुसियतकै सिफारिस गरेपछि प्रधानमन्त्री ओली पनि राजी भए। उनले चौधरीलाई दुई ठाउँमा सह–इञ्चार्ज बनाएर सरकारका कतिपय खाली ठाउँमा नियुक्ति समेत दिने आश्वासन दिए। तर, चौधरी मानिनन्। बैठकस्थलबाट निस्किन् ।
बैठकमा अन्तिमसम्म बसेका कुसियतलाई एमालेले सुनसरी जिल्लाको इञ्चार्ज तोक्यो । यो खबर बाहिर आउनासाथ चौधरी बेकाबु भइन्। उनले भन्न थालिन्,‘मलाई नदिएको ? म यो समूहमा बस्दिन ।’ उनले यो विषय सार्वजनिक रुपमा पनि घोषणा गरेकी छन् ।
चौधरी तत्कालिन प्रधानमन्त्री झलनाथ खनालको पालामा राज्यमन्त्री बनेकी थिइन् । उनी नेपाल खनाल निकटस्थ रहेर काम गरिरहेकी थिइन्। मौकाको आशमा नै उनले उक्त समूह छाडेर एमालेमा ओली पक्षलाई रोजिन् ।
स्रोतका अनुसार एमालेको सुनसरी इञ्चार्जको जिम्मेवारी दिने सर्तअनुसार नै चौधरी ओली समूहमा सक्रिय भएकी थिइन् । तर उक्त पद नपाएपछि अहिले आफ्नो त्यसबेलाको निर्णय निल्नु न ओकल्नुको भएको प्रतिक्रिया दिन थालेकी छन् । त्यसअघि नै कुसियतले उनको दाबीमा रहेको पद उडाइदिए ।
आफूनिकटस्थलाई उनले भन्ने गरेकी छन्,‘मलाई दिने भनेका हुन् तर दिएनन् । बार्गेनिङ पनि त्यहि नै भएको थियो। तर अब म उनीहरुसँग रहन सक्ने अवस्था छैन ।’
एमालेमा त्यस दिन नेपाल खनाल समूहका सबैको जिम्मेवारी खोसियो । यहाँसम्मकी नेपाल खनाललगायतका स्थायी समितिमा रहेका सबैलाई हटाइयो भने विभाग र विभिन्न समितिमा दिइएका अधिकार पनि खोसियो ।