नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई जनकपुर विमानस्थलमा माओवादी केन्द्रका नेताले स्वागत गरेका छन्।
काठमाडौंको होटल मेरियटमा अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर सोझै जनकपुर पुगेका नेता नेपाललाई विमानस्थलमा माओवादी केन्द्रका नेताहरूले स्वागत गरेका हुन्।
नेपाललाई लिन एमालेका नेतासहित माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र झा र रामकुमार शर्मा जनकपुर विमानस्थल पुगेका थिए। झा र शर्माले वरिष्ठ नेता नेपाललाई फूलमाला लगाएर विमानस्थलमा स्वागत गरेका थिए।
विमानस्थलमा नेपालले अध्यक्ष ओलीसँग कुनै सहमति नभएको दोहाेर्याए। साथै अब कसरी अगाडि बढ्ने यसबारे आफूले जानकारी गराउने उनले संक्षिप्त प्रतिक्रिया दिए।
नेपाल एमाले नेता यदुवंश झाका नातीको ब्रतबन्ध र जनकपुरस्थित मोडल क्याम्पसका सञ्चालक वीरेन्द्र साहको छोरीको विवाहमा सहभागी हुन त्यहाँ पुगेको उनी निकटस्थले बताएका छन्।