मुनाफा आर्जनमा नबिल शीर्ष स्थानमा: राष्ट्रिय वाणिज्यको नाफामा उच्च बृद्धि, सिटिजन्स पनि नाफामा
चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांश बैंकको नाफामा सुधार देखिएको छ भने केही बैंकको नाफा भने घटेको छ । समग्रमा बैंकिङ क्षेत्रको नाफा वृद्धिले वित्तीय क्षेत्रमा सुधारको संकेत देखाए पनि बैंकहरूबीचको प्रतिस्पर्धा र नाफा आर्जनको अन्तर भने उल्लेख्य देखिएको छ।
पहिलो त्रैमासको नाफा विवरणमा नबिल बैंकले आफ्नो अग्रस्थान कायम राखेको छ । बैंकले समीक्षा अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको नबिलले यसपटक आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको हो । नाफाको सूचीमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ । बैंकले २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आइएमईले पनि आफ्नो वित्तीय प्रदर्शन सुधार गरेको छ।
तर, सबैभन्दा उल्लेखनीय छलाङ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मारेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५८ करोड ८७ लाख रुपैयाँमा सीमित बैंकको नाफा यस वर्ष बढेर १ अर्ब ६४ करोड ९८ लाख रुपैयाँ पुगेको छ। यसले बैंकको नाफामा भएको तीव्र सुधारलाई स्पष्ट देखाएको छ ।
१० बैंकको नाफा एक अर्बमाथि
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १० बैंकले एक अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकबाहेक एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कृषि विकास बैंकले १ अर्ब ९ करोड २३ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
विशेषगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा वृद्धिलाई उल्लेखनीय मानिएको छ । गत वर्षको पहिलो त्रैमासमा ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै, कृषि विकास बैंक र सानिमा बैंकले पनि अघिल्लो वर्षको तुलनामा नाफामा उल्लेख्य सुधार गरेका छन् ।
घाटाबाट नाफामा फर्कियो सिटिजन्स बैंक
यस त्रैमासको वित्तीय विवरणमा सिटिजन्स बैंकको पुनरागमन पनि चर्चाको विषय बनेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको बैंकले यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । घाटाबाट नाफामा फर्किनुले बैंकको वित्तीय अवस्थामा सुधार आएको देखाउँछ ।
त्यस्तै, लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेका छन्। लक्ष्मी सनराइज बैंकको नाफा गत वर्षको ३३ करोड २३ लाख रुपैयाँबाट बढेर ६५ करोड ३३ लाख पुगेको छ । प्रभु बैंकले ३६ करोड ५७ लाख रुपैयाँबाट बढाएर ६४ करोड ७४ लाख रुपैयाँ पुर्याएको छ ।
सिद्धार्थ बैंकको नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । गत वर्षको पहिलो त्रैमासमा ३२ करोड ४० लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ८५ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।
केही बैंकको नाफामा भने गिरावट
अधिकांश बैंकले नाफा बढाउँदा केही बैंक भने अघिल्लो वर्षको तुलनामा पछाडि परेका छन् । हिमालयन बैंकको नाफा गत वर्षको ७० करोड २९ लाख रुपैयाँबाट घटेर ६८ करोड ४८ लाख रुपैयाँमा सीमित भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा पनि ६९ करोड ३९ लाख रुपैयाँबाट घटेर ६७ करोड १४ लाख रुपैयाँमा झरेको छ ।
प्राइम कमर्सियल बैंकको नाफा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँबाट घटेर १ अर्ब १८ करोड ७६ लाख रुपैयाँमा पुगेको छ । एनएमबि बैंकको नाफा पनि गत वर्षको १ अर्ब ३० करोड ८५ लाख रुपैयाँबाट घटेर १ अर्ब १६ करोड ४२ लाख रुपैयाँमा सीमित भएको छ ।
यसैगरी, एनआइसी एशिया बैंकको नाफा गत वर्षको १२ करोड २१ लाख रुपैयाँबाट सामान्य बढेर १२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । नेपाल एसबिआई बैंकले ५५ करोड ८५ लाख, माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख र नेपाल बैंकले ८३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।