आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कुमारी बैंकको नाफा बढ्यो

आइतबार, कार्तिक १५ २०८३

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद ब्याज आम्दानीमा उल्लेख्य गिरावट बेहोरे पनि खुद नाफा भने सामान्य वृद्धि गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ५ करोड ६५ लाख रुपैयाँको तुलनामा १.७० प्रतिशत बढी हो ।

बैंकको नाफामा सामान्य सुधार देखिए पनि मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने २८.१९ प्रतिशतले घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ९१ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा २ अर्ब ९ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, बैंकको कुल ब्याज आम्दानी पनि ७ अर्ब ३३ करोड ६१ लाख रुपैयाँबाट घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ ।

यद्यपि, ब्याज खर्च घट्नु र कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकममा उल्लेख्य कमी आउनुले बैंकको नाफा जोगाउन सहयोग पुगेको देखिन्छ । बैंकको ब्याज खर्च ४ अर्ब ४२ करोड ४० लाख रुपैयाँबाट घटेर ४ अर्ब ९ करोड ४६ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) ६४.४० प्रतिशतले घटेर ४४ करोड ९९ लाख ५४ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले यस शीर्षकमा १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ छुट्याएको थियो । यसले बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थामा आएको गिरावटको महत्वपूर्ण भूमिका रहेको देखाउँछ ।

बैंकको सञ्चालन मुनाफा भने ३२.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद शुल्क तथा कमिसन आम्दानी ३.९० प्रतिशतले वृद्धि भई ८८ करोड २३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ८४ करोड ९१ लाख ९६ हजार रुपैयाँ थियो। बैंकले खुद ट्रेडिङ आम्दानीबाट २५ करोड ७१ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानीबाट ४४ करोड ११ लाख रुपैयाँ प्राप्त गरेको छ ।

बैंकले व्यवसाय विस्तारलाई निरन्तरता दिँदै निक्षेप तथा कर्जा दुवै बढाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ६.३६ प्रतिशतले बढेर ४ खर्ब २८ अर्ब ३४ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकसँग ४ खर्ब २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ निक्षेप थियो । त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा ७.६८ प्रतिशतले वृद्धि भई २ खर्ब ९३ अर्ब ९ करोड ६२ लाख रुपैयाँ पुगेको  छ । गत वर्षको सोही अवधिमा बैंकको कर्जा प्रवाह २ खर्ब ७२ अर्ब २० करोड २३ लाख रुपैयाँ थियो ।