आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

एनआईसी एशिया बैंकको खुद मुनाफामा चार दशमलव ३३ प्रतिशतको बृद्धि

आइतबार, कार्तिक १५ २०८३

एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा सामान्य वृद्धि गरे पनि बैंकका अधिकांश प्रमुख वित्तीय सूचक कमजोर देखिएका छन् । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी, कुल सञ्चालन आम्दानी र सञ्चालन नाफामा गिरावट आएको छ भने खराब कर्जा (एनपीएल) उल्लेखनीय रूपमा बढेर ९.८१ प्रतिशत पुगेको छ।

बैंकले असोज मसान्तसम्म १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १२ करोड २१ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो । यसअनुसार बैंकको खुद नाफा ४.३३ प्रतिशतले मात्रै बढेको हो । नाफामा सामान्य सुधार देखिए पनि आम्दानीका प्रमुख स्रोतमा आएको गिरावटले बैंकको वित्तीय अवस्थामाथि दबाब रहेको संकेत गरेको छ।

बैंकको खुद ब्याज आम्दानीमा उल्लेखनीय गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । एक वर्षको अवधिमा बैंकले खुद ब्याज आम्दानीतर्फ करिब ३९ करोड ६८ लाख रुपैयाँ गुमाएको छ । शुल्क तथा कमिसन आम्दानीमा भने सामान्य सुधार देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३२ करोड ९० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर चालु आर्थिक वर्षमा ३५ करोड ६ लाख रुपैयाँ पुगेको छ । तर, शुल्क तथा कमिसन आम्दानीको वृद्धिले ब्याज आम्दानीमा आएको ठूलो गिरावटलाई पूर्ति गर्न सकेको देखिँदैन । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको असोज मसान्तसम्म घटेर २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँमा झरेको छ । यसैगरी सञ्चालन नाफा १९ करोड ३५ लाख रुपैयाँबाट घटेर १६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ।

यद्यपि, करअघिको नाफामा भने सामान्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ४५ लाख रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ।