ओलीले गत पुस १० गते तत्कालीन नेकपा दुई कित्तामा विभाजन हुँदा सांसद नरहेका पूर्वमाओवादी पृष्ठभूमिका नेताहरु मणिचन्द्र थापा र दावा तामाङलाई मन्त्री बनाएका थिए । ओलीले थापालाई खानेपानी र तामाङलाई युवा तथा खेलकुदमन्त्री बनाएका हुन् । सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्थाअनुसार उनीहरु मन्त्री बनेका हुन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा सांसद पद गुमाएका अरु चारजना मन्त्री छन् । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलापछि नेकपा खारेज भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साबिकको अवस्थामा फर्किए पनि तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकासमन्त्री प्रभु साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट पूर्वपार्टीमा फर्किएनन् ।
पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो । सोहीअनुसार चैत २६ गतेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुले माओवादी त्यागेको पत्र पढेर सुनाएका थिए । त्यससँगै उनीहरुको सांसद र मन्त्री पद पनि गुम्यो । तर, त्यसको भोलिपल्टै प्रधानमन्त्री ओलीले उनीहरुलाई पुनर्नियुक्ति गरे ।