काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
झापाबाट शनिवार विहान काठमाडौं फर्कनुभएका नेता नेपाल र अध्यक्ष दाहालबीच विहान साढे ९ बजे कोटेश्वरस्थित एक व्यापारीको घरमा भेट भएको बताइएको छ ।
शुक्रबार माओवादी नेतृत्वको कर्णाली प्रदेश सरकारको समर्थनमा एमालेका खनाल–नेपाल पक्षका चार सांसदले मतदान गरेका थिए ।
सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका हुन् । एमालेका ४ सहित कर्णालीका मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको थियो ।
जसमा माओवादी केन्द्रका १२ र कांग्रेसका ६ सांसदले मत दिएका थिए । प्रदेश सभामा एक मात्र सांसद रहेको राप्रपा भने तटस्थ बसेको थियो ।