आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बैदेशिक रोजगारीमा जाने ६५ प्रतिशतले घटे, मनोरञ्जन खर्च कटौति गर्दा रेमिट्यान्समा बृद्धि

मंगलबार, चैत्र ३१ २०७७

काठमाडौं । कोरोना महामारीले गर्दा कामको खोजिमा बिदेश  जानेहरुमा कमि आएको छ। गत वर्षको तुलनामा बिदेश जानका लागि सरकारसँग स्वीकृति लिनेहरुको संख्यामा ७४ प्रतिशतले गिरावट आएको छ ।

महामारीका कारणले गर्दा नेपालमा मात्रै नभई बिश्वभरका आर्थिक क्रियाकलापहरु प्रभावित भएका छन् । जसका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । लगानीकर्ता लगानी बिस्तार नगरि बसेका कारण उनिहरुलाई थप कामदारको आवश्यकता परेको छैन । जसका कारण नेपालबाट विदेश कामको खोजिमा जानेहरुको संख्यामा कमि आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुनमसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो ।

गत वर्षको फागुन मसान्त सम्म देशमा कोरोनाको कुनै प्रभाव परेको थिएन । सुरुमा चिनबाट फैर्र्लिएको कोरोना महामारीले बिस्तारै अन्य देशमा  संक्रमण मात्रै बढाएन आर्थिक क्रियाकलाप   समेत प्रभावित पार्याे ।

महामारीका कारण कैयन युवाहरु काम छाडेर नेपाल फर्केका छन्  । यसरी काम छाडेर आएका धेरैजसो नेपालमै बसेका छन् । जसका कारण नेपाल आएर पुन कामको लागि विदेश जानेको संख्यामा पनि कमि आएको नेपाल राष्ट्र बैंक बताउँछ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो ।

यसरी कामदारहरु कामको खोजिमा पुन जाने र नेपालबाट नयाँ जाने कामदारको संख्यामा भारी गिरावट भएको समयमा बिदेशबाट कामदारले नै पठाउने रकममा भने भारी बृद्धि भएको छ।

बिदेशमा यतिबेला आर्थिक क्रियाकलापमा संकुचन आएका कारण मनोरञ्जनका गतिबिधी कमै मात्रै भएका छन् । जसका कारण नेपाली कामदारले रमाइलोका  लागि गर्ने खर्चमा कटौति भएको छ ।

यसरी गरिने फजुल खर्चमा कमि आएपछि उनिहरुले नेपालमा पहिले भन्दा बढि रकम पठाएका छन् । साथै उनिहरुलाई भविष्यमा महामारी यस्तै रहे के गर्ने होला भन्ने भय  छ । जसका कारण उनिहरुले रकम जथाभावी खर्च नगरि बचाएर राखेर त्यो पैसा नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुनमसान्तसम्म विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६ खर्ब ४२ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो ।

फागुनमसान्तसम्म खुद ट्रान्सफर ७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब १८ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.० प्रतिशतले बढेको थियो ।