आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

कुल बस्तु निर्यात सात दसमलव आठ प्रतिसतले बढ्यो, आठ महिनामा ८० अर्ब ७८ करोड रुपैयाँको सामान निर्यात

सोमबार, चैत्र ३० २०७७

काठमाडौं ।  नेपालको कुल बस्तु निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको चालु आर्थिक बर्षको आठ महिनाको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी प्रतिवेदन अनुसार 
चालु आवको आठ महिनामा कुल वस्तु निर्यात सात दसमलव आठ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२ दसमलव तीन प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ११ दसमलव तीन प्रतिशत र दुई प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ४३ दसमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, तयारी पोशाक, जुत्ता तथा चप्पल, जस्तापाता, तार, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।
चालु आवको आठ महिनामा कुल वस्तु आयात दुई दसमलव एक प्रतिशतले वृद्धि भई नौ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात  दुई दसमलव छ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात नौ दसमलव आठ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः सात दसमलव एक प्रतिशत र १२ दसमलव एक प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयातबढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपूजा लगायतका वस्तुको आयात घटेको छ । 
निर्याततर्फ सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा एक दसमलव छ प्रतिशतले वृद्धि भई आठ खर्ब ६३ अर्ब २१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा चार दसमलव तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात आठ दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव एक प्रतिशत रहेको थियो ।