काठमाडौं । स्याङजा, कालिगण्डकी गाउँपालिका–१ बर्तुङस्थित जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने तुल बहादुर सोमै समेत २ जनाको २ वटा घर र १ वटा गोठमा शनिबार दिउँसो आगलागी हुँदा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–२ रम्ताला बस्ने श्रीपथ धोवीको खेतमा लु.२ त ५१९१ नम्बरको कम्पाईन मेसिनले गँहु काट्ने क्रममा उक्त मेसिनको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा मेसिन तथा ८ क्वीन्टल गँहु समेत जलेर करिब ८ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पर्साको ठोरी गाउँपालिका–२ ईच्छानगर बस्ने कृष्ण बहादुर नगरकोटी र राम बहादुर प्रजाको २ वटा घर र २ वटा गोठमा शनिबार दिउँसो आगलागी हुँदा घर तथा गोठ पूर्णरूपमा जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी पर्साको बिन्दवासिनी गाउँपालिका–५ भेलाहा बस्ने ध्रुव मुखियाको भुसा राख्ने गोठघरमा शनिबार दिउँसो करेन्ट सर्ट भई आगलागी हुँदा सोही ठाउँ बस्ने मेघराज मुखिया र मुखलाल मुखियाको कुखुराफर्म तथा परमानन्द मुखियाको गोठघरमा समेत आगलागी हुँदा करिब १० लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कालिकोटको पचालझरना गाउँपालिका–८ खोली वगर बस्ने दुर्गे सार्की समेत ६ जनाको घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १२ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रौतहटको परोहा नगरपलिका–४ लौकाहास्थित ढुकुछु कन्ट्रक्सन प्रालि भक्तपुरको निर्माण सामाग्री स्टोरमा खाना पकाउने क्रममा ग्याँस लिक भई शुक्रबार दिउँसो आगालागी हुँदा स्टोरमा रहेका बिभिन्न गाडीको पार्टस, मेसिनरी पार्टस, सिमेन्ट, कम्प्युटर, हाईड्रोलिक गेयर तेल, ब्याट्री, ईन्भर्टर, जेनेरेटर लगायतका सामान जलेर करिब १ करोड ७३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागीमा परी घाइते भएका सोही नगरपालिका–६ बसन्तपट्टी बस्ने ३४ बर्षीय दिप नारायण प्रसाद पटेलको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
सर्लाहीको बलरा नगरपालिका–४ बलरागोठ बस्ने विकाउ सहनीको घरमा विद्युतको तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा सहानी समेत ३ जनाको घर जलेर करिब १० लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ती बस्ने मान बहादुर मोक्तानको घर र गोठमा शनिबार साँझ आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बागलुङको बागलुङ नगरपालिका–३ गुठीस्थित सिर्जना फर्निचर उद्योगमा गएराति आगालागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका–३ सोमनी चौराहास्थित सोही गाउँपालिका–३ नन्दपुर घर भएका संतोष कुमार हरिजनको कपडा पसलमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।