आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु

आइतबार, चैत्र २९ २०७७

काठमाडौं ।  ललितपुरको ललितपुर महानगरपालिका–९ बालकुमारीस्थित सडकमा बा.७० प ३२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई  शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ईलाम घर भएका ३८ वर्षीय नदिप तामाङको मृत्यु भएको छ । दुर्घटना परी गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका  मोटरसाइकलमा सवार काभ्रे घर भएका ३४ वर्षीय जित बहादुर उदासको सोही अस्पतालमा उपचार भइरहेको छ । 
रुपन्देहीको गैडहवा गाउँपालिका–५ चेलेन्डिहवा चोकस्थित सडकमा लु.७१ प ४१५८ नम्बरको मोटरसाइकल र लु.५० प १२७७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा लु.७१ प ४१५८ नम्बरको मोटरसाइकल चालक लुम्बिनी साँस्कृतिक नगरपालिका–९ पिपरा बस्ने २२ बर्षीय साहिर खानको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका  दुवै मोटरसाइकलमा सवार ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  
यसैगरी रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीस्थित सडकमा ना.६ ख ९४१ नम्बरको बसले लु.२४ प ९७६८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक प्यूठान झिम्रुक गाउँपालिका–१ सौतामारे बस्ने २१ वर्षीय संजय खनाल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–२ बाँदीकोट बस्ने २१ वर्षीय फिरज क्षेत्री रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा ना.५ त ६०८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १७ वर्षीय झलक विकको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका–१९ स्थित सडकमा ना.१ ज ३८५९ नम्बरको म्याजिक गाडी आफै अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार  हाल नाम, थर, वतन नखुलेका २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापाको बिर्तामोड नगरपालिका–६ बुट्टाबारी चोकस्थित सडकमा ना.४ ख.७२८९ नम्बरको ट्रकले मे.४ प ६७४८ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–५ बैसाबारी बस्ने ३८ वर्षीय रामकान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल मे.१ ख २६२७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा सो ट्रकसँग ठक्कर खाई दुर्घटना भएको हो । ट्रक र बसका  चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
पर्साको ठोरी गाउँपालिका–४ गोपीबस्तीस्थित सडकमा ग.९ प ९५८७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने १७ वर्षीय अभिषेक गोलेको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल हुँदै एल एस न्युरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।