आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगलागीमा परी मृत्यु तथा विभिन्न धनमाल नष्ट

सोमबार, चैत्र २३ २०७७

काठमाडौं ।  मकवानपुरको भिमफेदी गाउँपालिका–३ पारिपाखास्थित जङ्गलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ६९ वर्षीया हस्तमायाँ सिन्तानको घर र गोठमा समेत आइतबार साँझ आगलागी हुँदा सोही आगोमा परी उनको मृत्यु भएको छ । 
यसैगरी मकवानपुर, बकैया गाउँपालिका–१२ निगाले बस्ने सोमार सिङ न्यासुरको घर र गोठमा आइतबार दिउँसो आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
खोटाङको खोटेहाङ गाउँपालिका–७ पुरानो गाँउस्थित मटकेनी सामुदायिक वनमा लागेको आगो फैलिएर आइतबार दिउँसो सोही ठाउँ बस्ने छबिलाल ढकालको समेत ९ जनाको घर, मतान, कटेरो समेतमा आगलागी हुँदा करिब ३७ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
धनकुटाको सहिदभुमी गाउँपालिका–१ त्रिबेणी सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने जगदेउ बस्ने नर बहादुर बोगटीको घर र गोठ तथा उनको छोरा राज बहादुर बोगटीको घरमा समेत आइतबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
तेह्रथुमको आठराई गाउँपालिका–७ थोक्लुङस्थित केरेपे बस्ने टिकाराज लिम्बुको घर र घर नजिकै रहेको गोठमा आइतबार दिउँसो आगलागी हुँदा करिब ९ लाख रूपैयाँ बराबरको धनमाल  जलेर नष्ट भएको छ । 
बाराको पचरौता नगरपालिका–१ पिपरपाती बस्ने जय नारायण यादवको घरमा आइतबार दिउँसो आगलागी भई बस्तीमा फैलिएर यादव समेत ४ जनाको ४ वटा घर र नागेन्द्र यादवको घर अगाडि रहेको धान सहितको भकारी समेत जलेर करिब ७ लाख १० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
मोरङको पथरी शनिस्चरे नगरपालिका–६ जयनेपाल चोक बस्ने लक्ष्मी कठेतको गोठमा घास थ्रेसरले टुक्र्याउने क्रममा निस्किएको आगोको झिल्काबाट आइतबार दिउँसो आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 
स्थानीयबासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।