काठमाडौं । बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका ७ स्थित भिमगिठ्ठेमा चैत्र १६ गते भएको आगलागी एपीएफ टोलीले स्थानीय प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याईएको छ ।
सोही ठाउँमा रहेको गंगाबहादुर गुरुङ्गको कच्ची घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव १५ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बाग्लुङ्गबाट खटिएको एपीएफ टोली सो आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
यसैगरी सर्लाही जिल्लाको चक्रघट्टा नगरपालिका ३ मा चैत्र १७ गते भएको आगलागी एपीएफ टोली र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।
सोही ठाउँमा रहेको शेख महोमदको फुसको घरमा घुर ताप्ने क्रममा आगो सल्कन गई आगलागी हुँदा करीव पाँच लाख रुपैयाँ बराबरको अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सुन्दरपुरबाट खटिएको एपीएफ टोलीले उक्त आगो विहान करीव साढे पाँच बजे नियन्त्रणमा ल्याएको थियो ।
यसैगरी नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ८ स्थित पिपरपातीमा चैत्र १६ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सो ठाउँमा रहेको दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा अचानक आगलागी भई करीब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।
सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गुठी प्रसौनीबाट एपीएफ टोली खटिई गई आगलागीमा नियन्त्रणमा सकृयताका साथ जुटेको थियो ।
यसैगरी बागलुङ जिल्लाको बागलुङ नगरपालिका २ लोकतान्त्रिक चोकस्थित ग्रिन एण्ड चिल्ड्रेन रेस्टुरेन्टमा चैत्र १७ गते भएको आगलागी सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म बागलुङबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
सो रेस्टुरेन्टको भान्छा कोठामा ग्याँस लिक भई आगलागी भएको बताइएको सो आगलागीमा करीब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।