काठमाडौँ उपत्यकाको आकाशमा शुक्रबार धुवाँको मात्रा बाक्लो देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले शुक्रबार दिउँसोदेखि काठमाडौँ उपत्यकाको बायुमा धुवाँ मिसिएका कारण मौसम धुम्म भएको बताए। ‘यहाँको वायुमा केही दिनयता तुवाँलो देखिएको थियो। शुक्रबार दिउँसोदेखि धुँवा पनि मिसिएको छ। पश्चिमी बायु पनि सक्रिय छ’, मौसमविद् पौडेलले भने।
वन विभागका डढेलो महाशाखाका प्रमुख सुन्दर शर्माले लाङटाङ राष्ट्रिय निकुञ्जमा डढेलो लागिरहेकाले त्यहाँबाट निस्किएको धुँवा पश्चिमी वायुले काठमाडौँतर्फ ल्याएको हुनसक्ने बताए।
‘लाङटाङ राष्ट्रिय निकुन्जमा डढेलो बढिरहेको छ। यही कारण धुँवा फैलिएको हुन सक्छ’, शर्माले भने। लाङटाङ राष्ट्रिय निकुन्जका रेन्जर नितेन्द्र सिंहले त्यहाँ फागुनदेखि लगातार डढेलो लागिरहेको बताए। ‘यहाँ अहिले आगो बढिरहेको छ र मुस्लो पनि ठूलो निस्किरहेको छ’, सिंहले भने।
वातावरणविद्ले भने काठमाडौँ उपत्यकामा शुक्रबारदेखि मौसम स्वास्थ्यका लागि हानिकारक रहेको बताएका छन्। यसले आँखा पिरो हुने, छाला चिलाउने, स्वासप्रश्वासमा समस्या देखिन सक्छ। यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन। निस्कनु परे मास्क लगाउनुपर्छ। बालबालिका र बृद्धबृद्धा तथा गम्भीर रोगका बिरामीहरुलाई यसले बढी असर गर्न सक्छ’, वातावरण विभागका उपमहानिर्देशक इन्दु विक्रम जोशीले भने।