आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वन्तका मुन्सी एआईजी केसी संगठन बदनाम गराउने खेलमा

बुधबार, चैत्र ११ २०७७

काठमाडौं । सशस्त्र प्रहरीमा अहिले एआईजीको कार्यकाल लम्ब्याउने खेल सुरु भएको छ । करिब एक महिनापछि संगठनबाट घर जाने एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेलले पछिल्लो समय संगठनमा काम गर्नभन्दा पनि कार्यकाल एक वर्ष लम्ब्याएर आफू आईजीपी बन्ने दौडमा रहेका छन् । आईजीपीको कार्यकाललाई ३ वर्षमा ल्याउने र आफू आईजीपी बन्ने अनियन्त्रित दौडमा रहेका छन् । 
अहिलेका केसी र पौडेलद्वय पूर्वआईजीपी कोषराज वन्तका विश्वास पात्रसमेत हुन् । वन्तका पालामा मालदार ठाउँमा बसेर फिँज काढेका द्वय अहिले विभिन्न शक्तिकेन्द्र धाउने र शक्तिकेन्द्रकै धज्जी उडाउने काममा मात्र तल्लीन रहेको बुझिएको छ । विधेयकमार्फत कार्यकाल लम्ब्याउन हिँडेका केसीले राज्यलाई भार पार्ने र निजामती कर्मचारीको जस्तै सहज हुने सोचमा छन् । तर कार्यकाल थप गरी सेवा तथा सुविधा बढ्दा राज्यलाई भार पर्छ भन्ने हेक्कासमेत राख्दैनन् । पछिल्लो समय प्रतिनिधिसभा विगठनपछि कांग्रेसको सरकार बन्छ भनी आफ्नो मिसनमा सफल हुने भन्ने केसी र पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा निकटका नेता प्रकाशशरण महतलाई हातमा लिएको खुल्न आएको छ । उनीहरू दुबै जना नुवाकोटकै बासिन्दा भएकाले सरकार परिवर्तनको दाउ हेर्दै प्रकाशशरणको आडमा अहिले भौंतारिरहेका छन् ।
तत्कालीन समयमा पौडेलले पोखरा ४ नम्बर प्रदेश हुँदा वन्तलाई रिझाएर २ नम्बर प्रदेशको नाकामा सेटिङ मिलाउने र गाडीका गाडी काठ तस्करीलाई सहयोग पु-याई अकूत धन आर्जन गरेका पात्र हुन् । एकेडेमीमा रहँदा रासन काण्डसमेत बल्लतल्ल छिचोलेर जागिर टिकाएका पौडेल त्यसबेला अख्तियारको फन्दाबाट जोडतोडले बचेका प्रहरी अधिकारी हुन् । कारबाहीका लागि गृहले पत्राचार गरे पनि पैसा र शक्तिकेन्द्रको आडमा आफूलाई सत्य साबित गर्न सफल भएका थिए । वन्तको पालामा पुष्पराम केसीलाई भने १ नम्बर प्रदेशको पुरस्कार दिइएको थियो । पुरस्कार स्वयम् वन्तलाई मोटो रकममा रिझाउने र तस्करसँग मिल्ने काममा अब्बल केसी सुपारी तस्करसँग मिलेको प्रमाण रहे पनि अख्तियारले उनलाई कारबाहीसमेत गर्न सकेको थिएन । अहिले भने केसी १ नम्बर प्रदेश बस्दाका व्यापारीलाई आफू जसरी पनि आईजीपी बन्ने भन्दै पैसा असुल्न लागेको स्रोतको दाबी छ । 
अचम्मको कुरा के छ भने, कांग्रेसको सरकार र प्रकाशशरणको छत्रछाया कुरेका एआईजीहरूको सपना पूरा नहुने संगठनभित्र चर्चा चलेको पाइन्छ । संगठनमा रहुन्जेल आफ्नो मात्र स्वार्थमा लागेका उनीहरूलाई संस्थागत सुशासन फौजीको वृत्ति विकास र सांगठनिक मनोबललगायत विभिन्न पक्षलाई सबल बनाउनेतिर कहिले नलागेको आरोपसमेत रहेको छ । पछिल्लो घटनाक्रमअनुसार अबको केही महिनामै एआईजीद्वय घर जाने छन् । अवैधानिक तवरले म्याद थपमा लागेका एआईजी बिदा भएपछि एक मात्र डीआईजी खड्ग राई एआईजी हुने र अहिलेका आईजीपी शैलेन्द्र खनालको कार्यकाल सकिएपछि सशस्त्र प्रहरीको आईजीपी स्वतः खड्ग राई हुनेछन् । संगठनभित्र उनीहरूको फोहोरी खेलको अहिले कुनै तुक नरहने भने पक्का रहेको बुझिएको छ ।