काठमाडौं । सप्तरी, रुपनी गाउँपालिका–६ स्थित सडकमा को.१ ख ७५३७ नम्बरको ट्रकले स.८ प ६५५२ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिंदा मोटरसाइकल चालक सोही गाउँपालिका भटिनिया टोल बस्ने ३५ वर्षीय प्रदिप कुमार सरदारको घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके, कोहलपुर नगरपालिका–११ बिद्युत चोकमा भे.१ क ११०० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय जयकण मल्लको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका मल्लको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेख, आठबिस नगरपालिका–१ स्यालाघाटस्थित सडकमा कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२४७ नम्बरको मिनीबस अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कालिकोट शुभकालिका गाउँपालिका–१ भर्ता बस्ने ३८ वर्षीय जितेन्द्र बहादुर शाहीको घटनास्थलमै र गम्भीर घाइते भएका कालिकोट नरहरिनाथ गाउँपालिका बस्ने २१ वर्षीय कमल विकको शाही मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही मेडिकलमा र १४ जनालाई थप उपचारको लागि सुर्खेततर्फ पठाइएको छ । हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी, भोक्राहा नरसिङ गाउँपालिका–४ स्थित सडकमा स.४ प ५७१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ईनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० वर्षीया खट्रो उराउको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारको लागि विराटनगर गोल्डेन अस्पतालतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।