काठमाडौं । ललितपुरको गोदावारी नगरपालिका–५ लेले खत्रीगाउँस्थित सडकमा बा.२ च ५९४९ नम्बरको पजेरो गाडी सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा बर्दिया जमुनी–१ घर भएका २८ वर्षीय रबि सुनारको मृत्यु भएको छ । दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका पजेरो चालक समेत २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका–१ जन्डोलस्थित सडकमा प्रदेश ३–०१–०२४ च ४२६९ नम्बरको पिकपको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–१ जन्डोल सिमराटोल बस्ने २८ वर्षीय दिपक चौधरीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । पिकप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।