काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका–९ एलम्बर चोकस्थित सडकमा मे.१ ख २७४६ नम्बरको बस र को.३८ प ४१९४ नम्बरको स्कुटर मंगलबार दिउँसो एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्टकुटमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण राईको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिङराङखानीस्थित सडकमा लु.१ ख ७७६२ नम्बरको ट्रक सडकबाट करिब २० मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा ट्रक चालक काभ्रे बनेपा नगरपालिका बस्ने ४५ वर्षीय बिष्णु घिमिरे र सह–चालक सोही ठाउँ बस्ने २८ वर्षीय सुमन संजेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।